काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले माओवादीको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् । एक भिडियो सन्देशमा बोल्दै पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साझी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताए ।
‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको बताए,’ उनले भने, ‘त्यसैको संकेतका रुपमा अदालतको प्रकरण बुझ्न सकिन्छ यसको लागि हामीले प्रतिवाद गर्छौं ।’ २०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा पोल्टिक भाषा भएको बताउँदै अदालतले हेर्न नमिल्ने जिकिर गरे । ‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’ भाषा हो, अदालतमा लैजानु गम्भीर क्रुटि हो,’ ‘हामीले राजनीतिक, बैचारिक रुपले सशक्त प्रतिवाद
गछौं ।’
शान्तिप्रक्रियाका विषयहरु टुंग्याउन माओवादीहरु एकठाउँमा आउनु विकल्प नभएको उनको भनाइ छ । अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी विदेशी शक्तिहरु लागिपरिरहेको बताउँदै पूर्वमाओवादीहरु एक ढिक्का हुुनुपर्ने बताए ।
‘माओवादी आन्दोलनमा भएका साथीहरु एक ठाउँमा हुनुपर्ने बेला आएको छ । ‘हामी छुटिँदा हाम्रा मुद्धाहरु कमजोर भए गम्भीर समिक्षा गरेर अघि बढ्छौं ।’
विगतमा शान्तिप्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिलेहरुले न्यायलयलाई प्रभावित पार्ने काम भएको उनले आरोप लगाएका छन् । ‘शान्तिप्रक्रियामा भूमिकै नभएकाले न्यायलयलाई प्रभावित पार्न खोजेका छन्,’ ‘बृहत शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरुलाई रुचेको
छैन ।’
माओवादी आन्दोलन र तत्कालीन ७ दलबीच भएको सहमति विपरित केही तत्वहरुले अहिलेको प्रणालीको मजा लिइरहेको बताउँदै हिजो भएका सहमतिलाई उल्लंघन गर्नु गम्भीर गल्ती भएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न ढिलाई भएको बताउँदै सहमति भएका मुद्दा उल्टाउनुले देशलाई गृहयुद्धतिर धकेलिएको बताए ।
‘द्धन्द्धकालीन मुद्धा टुंग्याउन ढिला भएका छन्,’ उनले भने, ‘तीनैलाई आधार मानेर अराजक तत्वहरुले देशलाई फेरि द्धन्द्धमा धकेल्ने षड्यन्त्र गरिरहेका छन् यसको प्रतिवादका लागि सम्पूर्ण माओवादी एकठाउँमा हुन आवश्यक छ ।’ वृहत शान्ति सम्झौतमा हस्ताक्षर गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका खेल्ने दलहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ ।
संक्रमणकालिन न्यायका मुद्धा टुंग्याउने विषयमा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत चाँडै यी विषय टुंग्याइने बताए । राजतन्त्र फर्काउन कहिले कञ्चनपुर कहिले झापाबाट गम्भीर प्रकारका वक्तव्य र क्रियाकलाप भइरहेको बताउँदै देशलाई गृहयुद्धतिर धकेल्ने र राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको बताए ।
‘न्यायपालिकालाई सम्मान गछौं, व्यक्ति र व्यक्तित्वले हमला दिएर देशमा भएको सहमतिलाई उल्लंघन गर्न खोजिएको छ त्यसको सबैठाउँबाट सशक्त प्रतिवाद गछौं’ उनले भने । माओवादी पार्टी नभइ विचार, आन्दोलन र दृष्किोण भएकाले अहिलेको संविधान जारी भएको बताए ।
मंगलबार द्धन्द्धकालीन सम्बन्धी मुद्धाको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि माओवादी वृत्त तातिएको छ । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले मंगलबार रिट दायर गरेका हुन् ।