Breaking News

नेपाली काँग्रेस कानेपोखरीले चार नेतालाई कारवाहीको सिफारिस

काठमाडौं । नेपाली काँग्रेस कानेपोखरीले चार नेतालाई कारवाहीको सिफारिस गरेको छ । गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित चार नेतालाई कारबाहीका लागि सिफारिस गरेको हो ।

काँग्रेस मोरङ क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका भूमि आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाई र कानेपोखरी उपसभापति भानु फुयाललाई कारबाही सिफारिस गरिएको हो ।

कानेपोखरी गाउँ कमिटीले उनीहरुलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न भन्दै जिल्ला कमिटीलाई पत्र पठाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसका तर्फबाट कानेपोखरी गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईलाई चुनावमा असहयोग गरेको कांग्रेस कानेपोखरीले ठहर गरेको छ । आफुलाई चुनाव हराउन उनीहरुले भूमिका निर्वाह गरेर असहयोग गरेको भन्दै अध्यक्षका उम्मेदवार भट्टराईले कानेपोखरी गाउँपालिका कमिटीमा उजुरी दिएका थिए ।

त्यसपछि कमिटीले अनुगमन गर्दा उनीहरुले अन्तर्घात गरेको निष्कर्ष निकालेको हो । ‘चुनावमा आफ्ना उम्मेदवारलाई मत नदिन र बिभिन्न रुपमा उम्मेदवारलाई असहयोग गरेको देखिएको छ । चारै जनालाई कांग्रेसको विधान अनुसार साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गर्दछौं’, कानेपोखरी कांग्रेसले जिल्ला कमिटीलाई पठाएको कारबाही सिफारिस पत्रमा भनिएको छ ।