हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्ने प्रस्ताव

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिकाको दोस्रो बैठक आज भएको छ । दोस्रो बैठक पनि लाइफ नै गरेर गरिएको थियो । बैठकमा मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरपालिकाको बैठकमा वडाध्यक्षहरुको प्रश्नको उत्तर दिएका छन् ।

अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगले सञ्चालन भएको छ । बालेनसँग वडाध्यक्षहरुले खानेपानी, सडक, टेलिकमसँगका सहकार्य, बाढी, ढल र फोहोर व्यवस्थापन सम्बन्धी जिज्ञासा र सुझाव प्रस्तुत गरेका छन् । बालेनले तिनको जवाफसमेत दिएका छन् ।

सडकमै भल बग्ने समस्याको समाधानका लागि मेयर बालेन साहले हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्ने प्रस्ताव गरेका छन् ।

हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट भएर ग्राउण्ड वाटर रिचार्ज गर्न सकियो भने र हरेक वडामा रिभर्स बोरिङ राख्न सकियो भने पानी सडकमा आउने समस्या नरहने र पानी रिचार्ज पनि हुने उनले बताए । उनले त्रिपुरेश्वर, टेकु लगायतका क्षेत्रमा ढल ठूला राखिने र ढल सफा गर्न जेट मेसिन प्रयोग गरिने बताए । यी काम एकै वर्षमा गर्न सकिने मेयर साहको भनाइ छ ।

उनले अबदेखि सडक विभाग, खानेपानी, विद्युत प्राधिकरण लगायतसँग सहकार्य गरेर काम गर्ने बताए । काठमाडौंमा अबको डेढ वर्षभित्र विद्युतका तारहरु भूमिगत हुने जानकारी आफूले पाएको उनले बताए । कार्यपालिका बैठकमा उनले भने ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्नु भएको छ । यसमा हामी पनि सहकार्य गर्छौं ।’ उनले इन्टरनेटको तार पनि व्यवस्थित गरिने बताए ।

 

कार्यपालिका बैठकमा वडाध्यक्षहरुले वडामा नगर प्रहरी बढाउन माग गरेका थिए । उनले जवाफ दिँदै अबदेखि नगर प्रहरीको आवश्यकता पर्ने वित्तिकै सिधै नगर प्रहरी प्रमुखलाई फोन गर्न मिल्ने बताए ।

यस्तै वडाध्यक्षहरुले सिसडोलमा कसले बल प्रयोग गरेको हो भन्दै गरेको प्रश्नमा बालेनले यो कुरा गृह मन्त्रालयलाई सोध्नुपर्ने र त्यो अधिकार महानगरलाई नभएको बताए । ‘सिसडोलमा हाम्रो मात्रै फोहोर जाँदैन २२, २३ नगरपालिकाको फोहोर जान्छ । प्रहरी परिचालन गर्ने महानगरको अधिकार छैन । त्यो गृहमन्त्रालयको अधिकार हो,’ उनले भने ।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन मेयर साह सुन्धारा क्षेत्रको अवलोकनमा आएको बेला आफूलाई थाहै नदिइएको गुनासो गरे । वडा नम्बर ७ का अध्यक्ष विमल कुमार होडाले पनि मेयर साह आफ्नो वडामा अनुगमन गर्न आउँदा समन्वय नगरेको गुनासो गरे ।