Breaking News

एमालेले स्थानीय तहमा चुनावी गठबन्धन गर्न जनता समाजवादी पार्टी नेपाल समक्ष प्रस्ताव

नेकपा एमालेले स्थानीय तहमा चुनावी गठबन्धन गर्न जनता समाजवादी पार्टी नेपाल समक्ष प्रस्ताव गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रचार प्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङमार्फत सो प्रस्ताव गरेका हुन् । गुरुङले जसपाका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईलाई भेटेर अध्यक्ष ओलीको सो प्रस्ताव सुनाएका थिए ।

चुनावी गठबन्धनका लागि काँग्रेस पार्टीमा विवाद चलिरहेको बेला एमालेले सत्तारुढ गठबन्धनमै रहेको जसपा नेपालसँग चुनावी गठबन्धनका लागि प्रस्ताव अघि सारेको हो । चार दलको गठबन्धनलाई चुनावमा पनि निरन्तरता दिने प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले भनिरहे पनि पार्टीभित्र त्यसमा एकमत हुन सकेको छैन ।

सत्तारुढ गठबन्धनमा भएको प्रारम्भिक छलफलमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले जितेका सबै ठाउँमा आफूलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । उता काँग्रेसले सबै महानगरपालिका लिने, अन्यमा भागबण्डा गर्ने भनेको छ । यो खिचातानीबीच सत्ता पक्षको चुनावी गठबन्धन नबनिरहेको बेला एमालेले त्यसको फाइदा लिन चाहेको हो ।

अध्यक्ष भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले दुईजना नेताको बीचमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताए । ‘समसामयिक राजनीतिक घटनाक्रममा अहिले स्थानीय चुनावको विषय मुख्य भइहाल्यो, त्यो विषयमा नेताहरुको बीचमा कुरा नहुने कुरै हुँदैन’ उनले भने ।

डा.भट्टराई र एमाले नेता गुरुङका बीचमा स्थानीय चुनावको विषयमा छलफल भएको उनको भनाइ छ । उनले भने, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएर आएको भन्ने कुरा मलाई थाहा छैन तर यति कुरा थाहा छ– उहाँ दुईजनाको बीचमा स्थानीय चुनावको विषयमा कुराकानी भएको हो ।’