Breaking News

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आज जिल्ला अदालत तनहुँको आदेश

१० चैत, काठमाडौं। अभिनेता पल शाहमाथि लागेको बलात्कारको घटनामाथि आज भएको थुनछेक वहसमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आज जिल्ला अदालत, तनहुँले आदेश दिएको छ ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो ।

पललाई नवलपुर पुर्‍याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो ।

तनहुँमा चाहिँ मंगलबार शाहविरुद्ध मुद्दा दर्ता भएको छ ।

अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध जबर्जस्ती करणी मुद्दामा मतियार बनेको अभियोग दर्ता गरेको थियो ।