Breaking News

आमा !

बासु थापा मगर

कविता

आज त हजुरको मुख हेर्ने दिन,
यानकी मातातिर्थ औसीं,
छोराहरुको बाटो हेर्दै हुनुहुन्छ हगि ?
आउछन् हजुरका छोराहरु,
नरुनुस् आमा !
हो आमा !
आउछन् हजुरका छोराहरु,
खाली हात आउदैनन्,
साथमा लिएर आउछन् थुप्रै कोसेलीहरु ।

काधमा थप जिम्मेवारी,
मनमा दृढसङ्कल्प,
देशमा भएका सकारात्मक परिवर्तन,
हामी छोरीचेलीले पाएको सुरक्षा अनि अवसर,
देशलाई स्युजरल्यान्ड बनाउने भावी योजनाहरु
अनि साथमा
यस संकटको घडीमा
जात, वर्ग, धर्म, राजनीतिक पार्टी
केही नभनी एकजुट भएर
जनताको सेवा सुरक्षामा लगिरहेको,
यस्ता थुप्रै मिठा मिठा कोसेली लिएर !

हो आमा देश अहिले ठुलो संकटमा छ,
जनताको सेवाको निम्ति हजुरका छोराहरु
नयाँ नयाँ निर्णयहरु गर्दै छन् !
फुटेर होईन आपसमा जुटेर !
हामी सबै एकदम खुसी छौ आमा,
कोहि पनि भोका छैनन्!
देश बनाउने काममा ब्यस्त भएर हो,
तर पनि
आउछन् हजुरका छोराहरु,
खालि हात होइन आमा,
थुप्रै कोसेली लिएर !

धत् लाती !
आजको दिनमानि आमा सङ झुट बोल्छेस् ?
तर त्यही घरमा बसेरनि थोरै झुट बोल्न सिकिनस् ?
छोरी! आमा हु म !
मलाई सब्बै थाहा छ,
मलाई छोरा भेट्न नआएकोमा होइन,
उनिहरुले बाटो बिराएकोमा दुख लाएको छ !

थाहा छ छोरी मलाई !
तिमिहरु सुरक्षित छैनौ !
हो मलाई सब्बै थाहा छ,
केके हुँदै छ भनेर !
भ्रष्टाचार, कालोबजारी, बलात्कार, यस्तैयस्तै..
त्यै पनि आशाको दियो निभ्न देको छैन छोरी,
एकदिन छोराहरुले सहि बाटो पहिल्याउनेछ्न् ..
आश अझै बाकी छ छोरी !!!!!
जननी जन्म भुमिश्च स्वर्गादपी गरियसि 🇳🇵🙏
जय नेपाल आमा 🇳🇵🙏
सम्पुर्ण आमाहरुमा हार्दिक नमन् 🙏

 

हालः कलंकी, काठमाण्डौ

लेखक : बासु थापा मगर