“मैले देखेको कतार” नामक पुस्तक उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच लोकार्पण

प्रोफेसर मोहम्मद रमजान अली मियाँद्वारा लिखित मैले देखेको कतार नामक पुस्तक उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच लोकार्पण गरेका छन् । उपराष्ट्रपति भवन हरितगृह लैनचौरको सभाहलमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कूटनैतिक, आर्थिकलगायतको सम्बन्धहरू र नेपाली कामदारले कतारलाई समृद्ध बनाउन गरेको योगदानहरूको चर्चा गरेकोले कतारका बारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने बताए ।

त्यस्तै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफू कतार गएको बेला लेखक मियाले राष्ट्रिय मानव अधिकार आयोगको हेल्प डेस्क मार्फत अन्याय र पीडामा परेका नेपाली श्रमिकहरूको उद्धार र सहयोग गरेको स्मरण गरे। पूर्व मन्त्री एवम् संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले यस पुस्तकले नेपाल कतार मैत्रीपूर्ण सम्बन्धमा थप आयाम वृद्धि गर्ने बताए । लेखक मियाँ भन्छन्, “नेपालले कतार बनायो, अब कतारको पालो नेपाल बनाउने । यही मूल वैचारिक पक्ष रहेको छ पुस्तकको जसले नेपाल–कतार मात्र होइन नेपाल र मध्यपूर्वका राष्ट्रहरूबीचको कूटनीतिक अवस्थालाई नयाँ ढङ्गले पुनर्विचार गर्न एउटा नौलो सोच दिएको छ । यस पुस्तकले कतारी मन र नेपाली मनलाई जोड्नेछ।“