कविता
चिसो ठण्डी हटेर यो धरतीमा फुल्दै थिए प्याँउली
वासन्तीलयमा ती कण्ठ सुरिला खोल्दै थिए न्याउली
नौला पल्लवले उमंग वनमा छर्दै थिए दिनदिन
शान्त मानवको अशान्त मन भो आयो कोरोना किन ?
गहुँबाली हरिया फुलेर पहेँला झुल्दै थिए खेतमा
पंक्षी पङ्ख खोली स्वतन्त्र नभमा डुल्दै थिए चेतमा
झर्नाका जलकण उडि पवनमा झर्दै थिए छिनछिन
शान्त मानवको अशान्त मन भो आयो कोरोना किन ?
सम्झी जन्मथलो बिदेशिनेहरु बेला हो यो फर्किने
नासो हृदयमा बोकेर खुशिको बेला हो यो फर्किने
बा को बाटो कुरेर सानी चिचिली हेर्दै थिइ दिनदिन
शान्त मानवको अशान्त मन भो आयो कोरोना किन ?
आफ्नो ताल र सुरमा बगि र थे खोलाहरु कलकल
मान्छे हो भनिद्यौ मेटाउ कहिले बैशाखको तलतल
सुस्त सुस्त पयर उचाली नजिकै आउदै थिए ती दिन
शान्त मानवको अशान्त मन भो आयो कोरोना किन ?
ठूला पण्डित अस्त्र सस्त्र सब यी भुत्ते बनाइकन
अचुक औषधिका जरा निमोठेर झुत्ते बनाइकन
के होला यसको उद्वेश्य योजना कसले बिझायो बिन
शान्त मानवको अशान्त मन भो आयो कोरोना किन ?
अरुलाइ रुवाइ हास्न कहिल्यै जान्दैन नेपाल यो
बिपतका गोलि बर्षिउन तर झुकान मान्दैन नेपाल यो
यस्तो देश मेरो बिना कसुरमा मस्तक बन्यो एकछिन
शान्त मानवको अशान्त मन भो आयो कोरोना किन ?
देखिन्नन किन बाटोमा घुमिरने किरा फटयांग्र्या पनि
सोच्दाहुन तिनले पनि जनलेझै बाचौ केही दिन भनी
झुल्किन्नन कहिल्यै रवि पृथ्वीमा यस्तो बन्यो कि दिन
शान्त मानवको अशान्त मन भो आयो कोरोना किन ?
आफ्नै स्वास्नीसंग निदाउन पनि हे दैव डर भो किन
आफ्नैहातले मुख मिठ्याउनपनि साच्चै अभरभो किन
कसले भन्छ अब कोहि बित्यो भने नरौ नरौ छिनछिन
शान्त मानवको अशान्त मन भो आयो कोरोना किन ?
कविताका रचनाकार( नेपाली लेखक संघ केन्द्रिय उपाध्यक्ष, नेपाली कांग्रेसका महासमिति सदस्य र नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य तथा कवि पचालझरना–४, कालिकोट, निवासी समेत हुनुहुन्छ ।