कोरोना संक्रमित मेडिकल सामग्री किन्न पाँच देशलाई पत्रचार

कदर समाचार
२६ चैत, काठमाडौं । सरकारले जीटूजीमार्फत कोरोना संक्रमणविरुद्धका मेडिकल सामग्री किन्नका लागि चीन र भारत सहित पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो ।
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जीटूजीमार्फत मेडिकल सामग्री खरिद गर्नुपर्ने भएकाले दूतावासमार्फत पहल गरेको हो । नेपाली सेनाले पनि ती देशमा रहेका राजदूतावासका सैनिक सहचारीमार्फत सामाग्रीहरु खरिदबारे पहल थालेको छ ।
सरकारले चीन सहित भारत, सिंगापुर, दक्षिण कोरिया र जापानसँग अत्यावश्यक पीपीई सहितका मेडिकल सामग्री खरिद गर्न खोजेको छ । सबै दूतावासमार्फत नेपाललाई आवश्यक पर्ने सामग्रीहरुको सूची पठाइएको स्रोतले जनाएको छ ।
सम्बन्धित देशबाट कुन सामग्री कतिमा दिने भन्ने जानकारी आएपछि खरिद प्रक्रिया अघि बढ्नेछ । यसबीचमा देशभित्र पर्याप्त सामग्री रहेको र स्वास्थ्य सेवा विभागले पनि टेण्डर आह्वान गरिसकेको एक मन्त्रीले बताए । जीटूजी प्रक्रिया झन्झटिलो रहेको उनको भनाइ छ ।
सरकारले सिधै सम्बन्धित देशको सरकारसँग सामान खरिद गर्न खोजेको छ र बीचमा कुनै एजेन्ट नहुने भनिएको छ । तर, ती देशका सरकार आफैँले सामग्री उत्पादन नगर्ने भएकाले निजी कम्पनीबाट सम्बन्धित सरकारले किनेर नेपाललाई बेच्नुपर्दा झण्झटिलो हुन्छ । निजी कम्पनीमार्फत खरिद गर्न खोज्दा विवाद भएपछि सरकारले अत्यावश्यक सामग्री जीटूजीमार्फत खरिद गर्न लागेको हो । त्यसको जिम्मा सेनालाई दिइएको छ । नेपाली सेनाले विद्यमान ऐन नियम अनुसारनै खरिद हुने जनाएको छ ।