डा. प्रकाशराज रेग्मीको “टन्सिलले बिगारेको मुटु” नामक पुस्तक बिमोचन

१४ असोज, काठमाण्डौ । मुटुरोग विशेषज्ञ डा.प्रकाशाव रेग्मीले मुटुरोग दिवसका अवसर पारेर पुस्तक ‘टन्सिलले बिगारेको मुटु’ को विमोचन संस्कृतिविद् सत्यमोहन जोशीले गरेका छन्् ।

महामारीको संकटग्रस्त अवस्थालाई मध्यनजर गरेर जोशीको बखुम्बहालस्थित निवासमै सानो जमघटका बीच विमोचन सम्पन्न भएको थियो ।

डा. रेग्मीका अनुसार ‘बाथ–मुटुरोग’ गरिबी र अशिक्षाबाट प्रताडितहरुको मुद्दा हो । यसको सबैभन्दा ठूलो शिकार विपन्नतामा हुर्किएका बालबालिकाहरु भइरहेका छन् ।

‘सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने यो रोगबारे ९९ प्रतिशत मानिस अनभिज्ञ नै छन्,’ पुस्तकका लेखक डा. रेग्मी भन्छन्, ‘यो रोगबाट अशक्त भइ विरामी अवस्थामा जीवन बिताउनेहरु असंख्य छन् ।’

जनचेतनामा अभिवृद्धि मात्र गराउने हो भने यो घातक रोगबाट हजारौं बालबालिकाको मृत्युदेखि लिएर त्योभन्दा पनि ठूलो संख्यामा अशक्त जीवन बिताउन बाध्यहरुको अवस्था फेर्न सकिने डा. रेग्मी दाबी गर्छन् ।

‘मैले त्यसै कारण यो पुस्तक लेखेको हुँ,’ विमोचन समारोहमा बोल्दै डा. रेग्मीले भने, ‘टन्सिल देखिएकै बेला सामान्य उपचार गरियो भने विरामीको अवस्था बेलैमा विकराल हुनबाट जोगिन्छ ।
पुस्तकमा लेखक डा. रेग्मीले बाथ मुटु रोगीका विविध पक्षलाई मिठोसँग भाषा र शैली मिलाएर लेखेको प्रमुख अतिथि जोशीले समारोहमा उल्लेख गरे ।

‘डाक्टरले लेखेको किताब भएकाले प्राविधिक होला भन्ठानेको थिएँ,’ जोशीले भने, ‘तर, पढ्दै जाँदा सामान्य पाठकका निम्ति पनि रोचक पुस्तक रहेछ ।’

यसरी सर्वसाधारणको रुचीलाई समात्दै स्वास्थ्यका गहन विषयहरु बुझाउने यस्ता धेरै किताबहरु आउनु जरुरी रहेको जोशीले उल्लेख गरे ।

डा. रेग्मीले यस पुस्तकमा नेपालमा मुटु रोगको उपचारको स्थापना र विकाससँगसँगै यसका संघर्षका कथाहरु पनि समेटेका छन् ।