१४ असोज, काठमाण्डौ । कोरोना महामारीका बीच अमेरिकामा राष्ट्रपति पदको चुनावको सरगर्मी बढेको छ । उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र जो बाइडेन पहिलो पटक आमने सामने भएर बहस गरेका छन् ।
चुनाव कसले जित्ला भन्ने चासो र अड्कलबाजी भइरहेको छ । यसबीचमा बिभिन्न सर्भेक्षणका नतिजा पनि सार्वजनिक भइरहेका छन् ।
यस पटक रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बाइडले चुनौती दिँदैछन् । जो बाइडन पूर्वराष्ट्रपति बराक ओबामाको पालाका उपराष्ट्रपतिको रुपमा चर्चित थिए । यद्यपि बाइडन अमेरिकाको राजनीतिमा १९७० को दशकबाटै सक्रिय छन् ।
मतदानको दिन नजिकिँदै गर्दा चुनावी सर्भेक्षणका नतिजा पनि सार्वजनिक भइरहेका छन् । अमेरिकामा राष्ट्रियस्तरमा हुने सर्भेक्षण पूरै देशभर कुन उम्मेदवार कति लोकप्रिय छ भन्ने कुराको पत्ता लगाउने राम्रो माध्यम हो । तर चाख लाग्दो कुरा त के छ भने यसबाट राष्ट्रपति चुनावको खास नतिजाको संकेत भने पाइँदैन ।
उदाहरणको रुपमा सन् २०१६ मा राष्ट्रियस्तरमा गरिएका लगभग सबै चुनावी सर्भेक्षण हिलारी क्लिन्टन डोनाल्ड ट्रम्पभन्दा करिब ३० लाख मतले अगाडि देखिएकी थिइन् । तर नतिजा आउँदा क्लिन्टन हारिन्, ट्रम्प राष्ट्रपति निर्वाचित भए ।
अहिलेका पनि बाइडन धेरैजसो सर्भेक्षणहरुमा ट्रम्पभन्दा अगाडि देखिएका छन् । पछिल्लो एक हप्ताको कुरा गर्ने हो भने बाइडनलाई करिब ५० प्रतिशत मतदाताको समर्थन देखिएको छ । राष्ट्रपति ट्रम्पभन्दा उनलाई ८ अंकको अग्रता प्रारम्भिक मत सर्भेक्षणमा देखिन्छ ।
यसको तुलनामा सन् २०१६ को मत सर्भेक्षणले यति स्पष्ट नतिजा देखाएको थिएन । त्यो समयमा डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनबीच सर्भेक्षणको मतान्तर थोरै मात्र देखिन्थ्यो ।
कुन–कुन राज्य निर्णायक होलान् ?
कुन राज्यबाट कुन उम्मेदवारलाई कति गयो भन्ने कुराले चुनावी नतिजामा अर्थ राख्दछ । राष्ट्रपति चुनावमा धेरैजसो राज्यहरुमा एकै प्रकारको मतदान हुन्छ । केही राज्यहरुमा खसेको मतले मात्रै राष्ट्रपति चुनाव कसले जित्छ र कसले हार्छ भनेर तय हुन्छ । यसलाई अमेरिकी राजनीतिमा ब्याटलग्राउन्ड स्टेट्स भनिन्छ ।
अमेरिकामा राष्ट्रपति पदको चुनाव इलेक्टोरल कलेज सिस्टममा हुन्छ । यसअनुसार राज्यको जनसंख्याको आधारमा इलेक्टोरल कलेजको मत दिइन्छ । अमेरिकामा इलेक्टोरल कलेजका ५३८ भोट हुन्छन् । त्यसैले राष्ट्रपति चुनाव जित्नका लागि कुनै पनि उम्मेदवारले इलेक्टोरल कलेजका २७० भोट पाउनुपर्छ ।
हाल चुनावी मत सर्भेक्षणहरुमा ब्याटल ग्राउन्ट स्टेट्समा जो बाइडन अगाडि देखिएका छन् । तर अझै पनि मतदानको समय आउन धेरै बाँकी छ र स्थिति छिटो बदलिन पनि सक्छ ।
मत सर्भेक्षणका अनुसार मिशिगन, पेन्सिल्भेनिया र विस्कोन्सिनमा जो बाइडन अगाडि छन् । सन् २०१६ को चुनावमा यी औद्योगिक राज्यहरुमा हिलारी क्लिन्टन झिनो अन्तरले विजयी भएकी थिइन् । हिलारीले यी राज्यहरुमा एक प्रतिशत वा त्योभन्दा पनि कम मत पाएकी थिइन् ।
डोनाल्ड ट्रम्प ब्याटलग्राउन्ड स्टेट्सहरुमै भारी अन्तरले विजयी भएका थिए । आजको मितिमा ट्रम्पको चुनावी टिमलाई यसैको धेरै चिन्ता भइरहेको होला ।
सन् २०१६ मा आयोवा, ओहायो र टेक्ससमा ट्रम्पको जितको अन्तर ८–१० प्रतिशत थियो । तर यसपटक भने यिनै तीनवटा राज्यहरुमा ट्रम्प र वाइडनबीच कडा टक्कर हुने मत सर्भेक्षणमा देखिएको छ ।
सर्भेक्षणका यी नतिजाको बाबजुद ट्रम्पले किन फेरि पनि चुनाव जित्ने अभियानका टिम म्यानेजरलाई जुलाई महिनामा परिवर्तन गरे होलान् भन्ने कुरा स्पष्ट हुन्छ । अर्को कुरा ट्रम्पले यी सर्भेक्षणहरुलाई पटक–पटक गलत भन्दै आएका छन् ।
यद्यपि जहाँसम्म सट्टा बजारको कुरा छ, त्यहाँ अझै पनि ट्रम्पको पराजय दाउ लगाइएको छैन । अहिलेको भावअनुसार अझै पनि दाउ लगाउनेहरुले ३ः१ भोटबाट ट्रम्पले नै चुनाव जित्ने अनुमान गरेका छन् ।
कोरोनाको प्रभावले ट्रम्पलाई असर गर्ला ?
कोरोना भाइरसको महामारीका कारण यस वर्षको सुरुदेखि नै अमेरिका चर्चामा छ । महामारीविरुद्ध लड्ने ट्रम्पको तरिकालाई लिएर अमेरिका जनता पक्ष–विपक्षमा विभाजित भएका छन् ।
मार्च महिनाको मध्यमा ट्रम्पले आपतकाल घोषणा गरेका थिए र राज्यहरुमा भाइरस फैलिनबाट रोक्नका लागि ५० अर्ब डलर सहयोगको घोषणा गरेका थिए । त्यति बेला उनको कदमको अमेरिकाका करिब ५५ प्रतिशत जनताले सह्राना गरेका थिए ।
तर, त्यसपछि कमसे कम डेमोक्रेटिक पार्टीका समर्थकहरु ट्रम्पको समर्थनमा देखिएनन् । कोरोना भाइरस महामारीमा रिपब्लिकन पार्टीका समर्थकहरुले भने आफ्नो राष्ट्रपति ट्रम्पलाई बलियो साथ दिएका छन् ।
यद्यपि कोरोना महामारीविरुद्धको लडाइँको बारेमा अमेरिकी जनताको राय लिइएको सबैभन्दा पछिल्लो सर्भेक्षणका अनुसार अहिले ट्रम्पका समर्थकहरुले पनि उनको तौरतरिकामा प्रश्न उठाउन थालेका छन् । किनभने अमेरिकाको दक्षिणी र पश्चिमी राज्यमा कोरोना संक्रमणको दोस्रो लहरबाट लड्नु परिरहेको छ । यस प्रकरणमा जुलाई महिनाको शुरुको हप्तामा ट्रम्पप्रति रिपब्लिकन समर्थकको समेत समर्थन घटेर ७८ प्रतिशत रहेको थियो ।
यी तथ्यांकहरुका के कुरा स्पष्ट हुन्छ भने राष्ट्रपति ट्रम्पले हालैका दिनहरुमा कोरोना महामारीको सम्बन्धमा धेरै विश्वासिला अभिव्यक्ति दिएका छैनन् बरु उल्टै अमेरिकामा स्थिति अझै बिग्रिन सक्ने चेतावनी दिइरहेका छन् । हालै मात्र उनी फेस मास्क लगाएर सार्वजनिक स्थानमा देखिएका थिए । यति मात्र होइन ट्रम्ले अमेरिकी जनतालाई मास्क लगाउन अपिल गरेका थिए । यसबाट राम्रो प्रभाव पर्ने र यही देशभक्ति भएको उनले बताएका थिए ।
वाशिङ्गटन विश्वविद्यालयका विशेषज्ञले तयार पारेको एक आँकडा अनुसार एक नोभेम्बर अर्थात् अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुनुभन्दा ठीक दुई दिन अगाडिसम्म अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख ३० हजारभन्दा धेरै जनाको मृत्यु हुनसक्छ ।
सन् २०१६ मा फर्किएर हेर्ने हो भने चुनाव अगाडि भइरहेका मत सर्भेक्षणलाई विश्वास गर्न सकिँदैन । किनभने सन् २०१६ को मत सर्भेक्षण गलत सावित भएको थियो । ट्रम्पले पनि मत सर्भेक्षणका नतिजाहरु गलत भएको बताउँदै आएका छन् ।
सन् २०१६ मा धेरैजसो राष्ट्रिय सर्भेक्षणमा हिलारी क्लिन्टन राष्ट्रपति विजयी हुने नतिजा आएका थिए । तर चुनाव ट्रम्पले जिते । यसको अर्थ यो होइन कि सर्भेक्षण पूरै गलत थियो । वास्तवमा हिलारी क्लिन्टनले ट्रम्पले भन्दा ३० लाख बढी मत पाएकी थिइन् ।
– बीबीसीको सहयोगमा