मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा.नारायणप्रसाद पौडेल नियुक्त

१४ असोज, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा.नारायणप्रसाद पौडेल नियुक्त भएका छन् ।

उपकुुलपति प्रा.डा. नन्दबहादुर सिंहको सिफारिसमा प्रधानमन्त्री एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पौडेललाई असोज १२ गते रजिष्ट्रारमा नियुक्त गरेको उपकुलपतिका स्वकिय सचिव डिल्लीबहादुर सिंहले जानकारी दिए ।

विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । जसमा १९ जनाको आवेदन परेको थियो । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको नेतृत्वमा तीन सदस्यीय छनोट समितिले आवेदकहरुमध्येबाट डा. पौडेललाई छनोट गरेको सिंहले बताए ।

नेपालका विश्वविद्यालयहरुको इतिहासमा पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गरेको सिंहले दाबी गरे । ‘यसअघि राजनीतिक शक्तिका आधारमा रजिष्ट्रार नियुक्त गरिन्थ्यो । हामीले त्यो प्रणाली पूर्णरुपले तोडिदिएका छौं,’ सिंहले भने ।

नवनियुक्त रजिष्ट्रार डा. पौडेलको कार्यकाल चार वर्षे रहने छ । डा. पौडेलले काठमाडौं विश्वविद्यालयमा १० वर्ष र वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा ६ वर्ष प्राध्यापन गरेका छन् । पौडेल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकायको प्राध्यापकको रुपमा कार्यरतसमेत थिए ।

विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसोम) को निर्देशकको रुपमा काम गरेका पौडेल व्यवस्थापन संकायको एमफिल र पीएचडी कार्यक्रमको निर्देशकको रुपमा पनि काम गरिसकेका छन् ।

रजिष्ट्रार नियुक्तिसँगै अब विश्वविद्यालयका रिक्त रहेका विभिन्न संकायको डीन नियुक्तिको बाटो खुलेको छ ।

यसअघि रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको असार २९ गते अवधि सकिएको थियो । त्यसपछि सहप्राध्यापक यामबहादुर कार्कीले निमित्त रजिष्ट्रारको जिम्मेवारी सम्हाल्दै आएका थिए ।