युएस ओपनको महिला एकलको उपाधिका लागि ओसाका र भिक्टोरियाबीच प्रतिस्पर्धा

एजेन्सी

२६ भाद्र, काठमाडौं । युएस ओपनको महिला एकलको उपाधिका लागि नाओमी ओसाका र भिक्टोरिया अजरेन्काबीच प्रतिस्पर्धा हुनेछ ।

बेलारुसकी अजरेन्काले अमेरिकाकी सेरेना विलियम्सलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी हुन् ।

पहिलो सेट सेरेनाले ६–१ ले सहजरूपमा जितेकी थिइन् । दोस्रो सेटदेखि भने अजरेन्का खेलमा फर्किइन् ।

उनले दोस्रो सेट ६–३ ले जितेर खेललाई १–१ को बराबरीमा ल्याइन् ।

निर्णायक तेस्रो सेटमा पनि अजरेन्का हाबी भइन् । उनले तेस्रो सेट ६–३ ले नै जितेर फाइनलमा स्थान पक्का गरिन् ।

हारसँगै २४औं ग्रान्डस्लाम टेनिसको उपाधि जितेर कीर्तिमान बराबरी गर्ने अभियानमा रहेको सेरेना निरास भइन् ।

अब अजरेन्काले २०१८ की च्याम्पियन जापानकी खेलाडी नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्नेछिन् ।

ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई २–१ को सेटमा पराजित गरिन् । पहिलो सेट ओसाकाले ७–१ (७–६) ले जितिन् । दोस्रो सेटमा ब्राडीले ६–३ ले आफ्नो पक्षमा पारिन् ।

निर्णायक तेस्रो सेटमा ओसाका ६–३ ले हाबी हुँदै उपाधितर्फ अघि बढिन् ।

पुरुष एकलतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । जसमा स्पेनका पाब्लो बुस्टा र जर्मनीका अलेकजेन्डर जभेरेभबीच पहिलो सेमिफाइनल हुनेछ ।

दोस्रो सेमिफाइनलमा रसियाका डानिल मेडभेडेव र अस्ट्रियाका डोमिनिक थियमबीच खेल हुनेछ ।