मौद्रिक नीतिपछि सेयर बजारको परिसूचक नेप्से ह्वात्तै बढ्यो

४ साउन, काठमाडौं । मौद्रिक नीतिपछि सेयर बजारको परिसूचक नेप्से ह्वात्तै बढेको छ । यस दिन सेयर बजारमा केही अचम्मका दृश्य देखिए ।

११ बजे खुलेको सेयर बजारमा ६ मिनेटमै पहिलो सर्किट लाग्यो । १५ मिनेट स्थगित भई ११ बजेर २७ मिनेट जाँदा फेरि कारोबार सूचारु भएको थियो । तर १ मिनेट पनि कारोबार हुन पाएन। ३८ सेकेन्डमै अर्को सर्किट लाग्न पुग्यो ।

दोस्रो पटक १२ बजेर ८ मिनेट जाँदा खुलेको सेयर बजार पनि केही सेकेन्ड मात्रै टिक्यो ।

फेरि २२ सेकेन्डमै सर्किट लागेपछि आजका लागि कारोबार बन्द भएको छ । यस दिन पूर्ण रुपमा ७ मिनेट पनि कारोबार हुन सकेन । एक दर्जन बढी कम्पनीको सेयरलाई १० प्रतिशत बढी मूल्य दिएर किन्न खोज्दा पनि लगानीकर्ताले किन्न पाएनन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले यस दिन छोटो समयमै लागेको सर्किट यसअघिका भन्दा अचम्मको रहेको बताए । ‘यसअघि यति छोटो समयमा पटक पटक सर्किट लागेको थाहा थिएन’ उनले भने ।

सर्किटमा मात्रै होइन, यस दिन कारोबार भएका सबै कम्पनीको सेयर मूल्य बढेको छ। यस दिन कुनै पनि कम्पनीको मूल्य घटेन ।

१४ सय ८ अंकबाट खुलेको सेयर बजार आज ६ प्रतिशत अर्थात ८४ अंकले बढेको छ । आजको कारोबारपछि नेप्से परिसूचक १ हजार ४ सय ७९ अंकमा पुगेको छ ।

थोरै समय मात्रै कारोबार भएकाले कारोबार रकम खुम्चिएको छ। यस दिन जम्मा ६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बैंकिङ ८८, विकास बैंक ६३, जलविद्युत ३६, फाइनान्स ९, निर्जीवन बीमा समूह २०२, उत्पादन १४१, अन्य ४९, माइक्रोफाइनानस ९२, जीवन बीमा समूह ५४८ अंकले बढेको छ ।

गुराँस लघुवित्त, एनआइसी एसिया बैंक, नविल बैंक, इन्भेष्टमेन्ट बैंक, नेपाल पुनर्बीमा, एभरेष्ट बैंक, हिमालय डिस्टीलरी, ज्योति विकास बैंक, एनएमबी बैंकको १० प्रतिशतले मूल्य बढेको छ ।

पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकमको कारोबार भएको छ। सो कम्पनीको २ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

किन एक्कासी बढ्यो बजार ?

गत शुक्रबार आएको मौद्रिक नीतिले सेयर धितोमा दिइने कर्जालाई खुकुलो बनाएको छ । कुल सेयर मूल्यको ६५ प्रतिशतसम्म कर्जा प्रवाह हुने व्यवस्थालाई बढाएर ७० प्रतिशत पुर्याइएको छ ।

अर्कोतर्फ पछिल्लो १८० दिनको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था रहेकोमा १२० दिन कायम गरिएको छ । यसको अर्थ १२० दिनको सेयरको औसत मूल्य गणना गरी सोको ७० प्रतिशतसम्म ऋण पाइनेछ ।

त्यस्तै दोस्रो पक्ष, कर्जा स्रोत परिचालन अनुपात (सिसिडी रेसियो)को सीमा ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत कायम गरिएको छ। यसले गर्दा अब बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनेछ । अर्कोतर्फ ऋण प्रवाह त्यति बढ्न सकेको
छैन ।

अहिले पनि लगानीयोग्य रकम थुप्रिरहेकोमा सिसिडीको थप सहजताले ब्याजदर समेत घट्न सक्ने अनुमान गरिएको छ । बैंकहरुले दिने ब्याजदरमा यसअघि क्याप लगाउँदै आएकोमा साउनदेखि नै यो क्याप खोलेका छन् ।

यसको अर्थ अब तत्काल ब्याजदर बढ्दैन, बरु घट्ने संभावना प्रबल छ। केही बैंकहरुले सस्तो ब्याजदरमा कर्जा दिनेगरी अफर ल्याउन थालिसकेका छन्। जसले गर्दा सेयर बजार बढ्नलाई टेवा पुगेको छ ।

यता नेपाल धितोपत्र बोर्डले पनि पुँजी बजारको विकास गर्नेगरी नीति तथा कार्यक्रम तयार गरेको छ। यसअघि संसदीय समितिले नै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गर्न भनिसकेको छ। जसले गर्दा सो प्रावधानलाई धितोपत्र बोर्डले आफ्नो नीति तथा कार्यक्रममा समेट्ने छ ।

लकडाउनका कारण सेयर बजार झण्डै ३ महिना बन्द भएपछि बजारलाई प्रविधिमैत्री बनाउनेगरी बोर्डको नीति तथा कार्यक्रम आउने लगानीकर्ताको अपेक्षा छ ।

समाचार सेतोपाटीबाट