पत्रकारद्धारा कान्तिपुर मिडिया हाउसलाई २ रुपैयाँ हस्तान्तरण

४ साउन, काठमाडौं । कोरोना लकडाउनको बहाना बनाई नेपाल नाम कहिलिएका ठूला मिडियाहरुले पत्रकारहरुलाई बिना पारिश्रमिक सेवाबाट निकाल्ने, बेतलवी बिदामा घरमै बस्न बाध्य पारेको र श्रमजीवी पत्रकार ऐन कार्यान्ययन नगरेको भन्दै पत्रकारहरुले कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई रु. २ प्रदान गर्ने अभियान थालेका छन् ।

आज आइतबार बिहान १० : ३० बजे श्रमजीवी पत्रकारको पक्षमा प्रदर्शन गरिएको छ । नयाँ बानेश्वरमा भेला भई कान्तिपुरको थापाथलीस्थित कार्यालयमा पुगेर धर्ना दिई उक्त रकम कान्तिपुर ब्यवस्थापनलाई हस्तान्तरण गरिएको जानकारीे नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताउनु भएकोछ ।

सोही धर्ना र २ रुपैयाँ बुझाउने क्रममा प्रेस संगठन नेपाल, काठमाडौंका संयोजक सागर पन्तले पत्रकारहरुलाई कान्तिपुर जस्तो बिग हाउसले पारिश्रमीक नदिएको र बेतलवी बिदा बस्न बाध्य पारेको भन्दै साङ्केतिक रुपमा बिरोध गरिएको बताउनु भयो ।