– मोतीराज बम
श्रीबाबु कार्की उदासले
पोष्ट गरेका कविता पढेर,भाव बुझेर
अनि देशको हालबेहाल देखेर
म तनावमा छु ।
घरको पछाडिबाट भागेर, कुलेलम ठोकेर पनि सक्षम
नभागेर घरमै बसेर चुटाइ खाएर पनि असक्षम भन्ने
भाष्य निर्माण भएको देखेर
म तनावमा छु ।
गाडी भाडा नपाएर
दशैमा घर जान नसक्नेहरु खुशी छन्
तर धनको थुप्रो,थुप्रै माथी थुप्रो राख्नेहरु
अझै बेखुशी देखेर
म तनावमा छु ।
अट्ठाइस मुनिकाले आन्दोलन गर्ने
दस मुनिकाले शहादत् प्राप्त गर्ने
सत्तरी माथिकाले सत्ताभोग गर्ने देखेर
म तनावमा छु ।
सिंहदरबार जल्यो,शीतल निवास जल्यो
सर्बोच्च जल्यो,संसद भवन जल्यो
तर काठमाडौको फोहोर नजलेको देखेर
म तनावमा छु ।
भाटभटेनी रोयो, मालिक मीन गुरुङ रोयो
अपशोच एमालेलाई दान दिएको ११ रोपनी जग्गा
फिटिक्कै नरोएको देखेर
म तनावमा छु ।
जब संसद ढल्यो
पूर्वबाट गुँइठे आयो
र्यापे, ट्यापेको पनि नाम सुनियो
अकस्मात शिक्षा प्रबिधि मन्त्रालयमा
म कवाडी बैज्ञानिक मन्त्री हुँ भन्दै महाबिर पुन
फिस्स हाँसेको देखेर
म तनावमा छु ।
अरुको भत्काएर आफ्नो बनाउन पल्केका
दस बर्षे कालाज्वरको
पुरै ध्वस्त भएको देखेर
म तनावमा छु ।
टुक्का भन्दाभन्दै, तेउणी खेल्दाखेल्दै
देश टुक्राटुक्रा पारेको देखेर
म तनावमा छु ।
त्यसैले मेरा टुक्रे साहुहरु
दशै अगाडि फोन नगर्नु मलाई
म तनावमा छु
धेरै तनावमा छु ।

