काठमाडौँ । जेनजीको आन्दोलनको रापबाट आज बाट कारागारबाट छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजालबाट भनेका छन्,जेनजी पुस्तालाई संयमता अपनाउन अपिल गरेका छन् । उनले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी रहेको समेत बताएका छन् ।
उनले भनेका छन् , ‘यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ । यिनको निजी सम्पत्ति यिनको होइन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन् । यिनको बाँकी सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी छ ।’
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना
गर्दछु ।
यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ । यिनको निजी सम्पत्ति यिनको होइन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन् । यिनको बाँकी सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरु जोगाउन जरुरी छ । राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायालय लगायतका दस्ताबेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्ताबेजहरू नास हुन सक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन् । सरकारी सम्पत्तिहरू क्षति हुँदा राष्ट्रकै सम्पत्तिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन विशुद्ध जेनजीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरूप अघि बढ्नुपर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।
आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागी कानुबमोजिमको प्रक्रिया पुरा गरी पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।
एक सचेत नागरिकका रूपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

