Breaking News

धारिलो समय

समयलाई सनक चढेपछि
स्वयं समय पनि धारिलो हुँदोरहेछ ।
                 ०००
कति बिषाक्त हुन्छ धारिलो नजर
जति भुत्ते बनाउन खोजेपनि कानुनले
झन्झन् तिखारिदै जान्छ ।
                ०००
धारिला शब्दहरू बटुलेर
सामाजिक सञ्जालमा राख
भाषणमा अभिब्यक्त गर
कागजका पानामा उतार
शान्त र स्निग्ध मुटु
चसक्क नदुखाइ छोड्दैनन् ।
                ०००
रुपवान युवतिको
देह शृङगारका हरचिजहरु
अपत्यारिलो धारिला हुन्छन्
तिनै धारिलो शृङगारले
भाचिएका नाकका डाडिहरु
प्रशस्त भेटिन्छन् शहरमा ।
                 ०००
आजभोलि त
फूल पनि धारिलो लाग्छ
इन्द्रेणी पनि धारिलो लाग्छ
रस र रंग पनि धारिलो लाग्छ
र त कत्लेआम बाँचिरहेकाछन् कविहरु ।
                   ०००
बाँसुरिको धून
सारंगीको तार
नौमतिको रन्को
सनाइको स्वर
यी पनि धारिलाकै नश्लहुन् ।
                   ०००
बरु, प्रिय लाग्छन् तरबारहरु
स्नेही लाग्छन् खुकुरीहरु
बिनोदी लाग्छन् खुडाहरु
किनकि ! यिनिहरुबाट सधैं
सतर्क रहन सजिलो हुन्छ ।
– मोतीराज बम 

 – मोतीराज बम