Breaking News

आमाको हृदय  र आँसुको मुल्य !!

आमा, मेरो प्रिय आमा,
मेरो हृदयको ढुकढुकिनै तिम्रो
स्नेहको देन हो,
किनकी,
तिमिले आशिर्वाद दिंदा सम्म मात्र यसको
जिवित अस्थित्व भएको भान हुन्छ,
नत्र,
आर्यघाटको मौनतालाई
भंग गर्ने झुठो हाँसो त आगोमा
पिल्सिएका लासमा पनि त देख्न सकिन्छ,
त्यो  मांस गलेर अस्थिपन्जर  देखिएको
लासले हाँसेको जस्तो लागे पनि
वास्तवमा उ हाँसेको हुँदैन,
देखिएको मात्र हुन्छ ।।

सायद आमा र आँसु शब्द सृजना गर्दा नै
परमेश्वरले पनि भोगेको हुनु पर्छ,
यति लामो जीवन यिनै दुई पर्यायबाची शब्दले
घिस्रीएको महशुस हुन्छ !!
भनिन्छ, जहाँ आमा हाँस्छिन, त्यहाँ ब्रह्माण्ड पनि
हाँसेको हुन्छ,
र जहाँ आमा रुन्छिन त्यहाँ, प्रकृति नै रोएको हुन्छ,
आज मेरो मन पनि त्यस्तै भएको छ,
आमा बाट भौतिक रुपमा टाढा भएर बाँच्ने
संस्कारगत तक्मा पाएका प्रत्येक सन्तती विशेष त: चेली
जिवित नै हुनु भएको आमाको पनि
कल्पना गरेर बाँच्न विवस छन,
उनिहरु आमा रोएको कल्पना गर्दा रुन्छन,
आमा हाँसेको कल्पना गर्दा एक्लै हाँस्दछन,
नियतिले एक्लो बनाए पछि यो नै
हर चेलिको दिनचर्या हो प्राय ।।

यो हरेक चाडबाडको झिल्मिलमा
टलक्क टल्किएका नारीको मनमा त्यतिनै
गहिरो दुख हुन सक्छ,
आमाको याद लुकाउन यसो बाहिरी परीवेसलाई
देखाउन र मन भुलाउन सजिएको त
बहाना मात्र हुन सक्छ !!
आफुले हर प्रयास गर्दा सिँचित गर्न नसकेको
पराया मरुभुमिमा कति निसासिन्छ होला मन,
जसलाई अश्रु वर्सात,
रक्त कुन्ड  र पसिनाको भेलमा डुबाउँदा पनि तृप्तता
प्रदान गर्न सकिन्न,
आफ्नो बनाउन सकिन्न,
हर समय केही कमि, खाली र उजाड नै देखिने
त्यो मरुभुमिलाई हराभरा बनाउन त
पुरै जीवन भरी नसकिने रहेछ,
मर्यादित खेल खेल्न पनि त
गोलकिपर र  प्रतिपक्ष खेलाडीहरु
नियमको दायरामा रहनु पर्दछ ।।

सायद त्यही तापले, कठोर अग्निज्वाला बाट
आफुलाई चम्किलो हिरामा रुपान्तरण गरीसके
पश्चात् नै आमा यति सरल, बिनम्र र हृदय आकाश
मै तेज पैदा गर्न सक्ने प्रकृतिकी सुन्दर आकृती
भएकी हुनु पर्छ ।।

आमालाई देखावटी नै किन नहोस
सन्तानको रंगहिन आँशुले मात्र पनि  दिन  रात
छटपटी दिने गर्छ,
पराया र कठोर हृदयलाई यथार्थका पसिना
र पिडाबाट आएका एबम रक्तिम संघर्षबाट बगेको
रगत समेत सामान्य लाग्छ ।

आमाले आँसु देख्न सक्दिनन,
अरुले हाँसो देख्न सक्दैनन,
आमालाई झुठ नै भएपनी खुशी,मुस्कान मन्पर्छ,
अरुलाई झुठनै भए पनि पीडा मन पर्छ,
आमा सदैव जितेको हेर्न चाहन्छिन,
तर एक सच्चा आमा सदैव कसैको
मन नदुखाई सफल भएको हेर्न चाहन्छिन ।।

आमा तिम्रो हृदय कत्रो छ ??
जहाँ आकाश भन्दा फराक,
र विराट करुणाका भावहरु छन,
तिम्रो मस्तिष्क कस्तो छ,
जहाँ आफ्नो भन्दा अरुको दुखलाई
महशुस गरि कम गराउन  सक्ने औसधालय छ  !
आमा तिम्रो पेट कस्तो छ ??
जहाँ आफ्नो भोक लुकाएर
सन्तानले खाएको देखि स्वत: अघाउँछ ।।

सायद आँशुको पर्यायबाची शब्द नै आमा हुन,
र त यो धर्तिको प्रत्येक प्राणिको  पिडामा
पहिलो आवाज “आमा” निस्कन्छ,
रंगहिन आँशुका प्रत्येक बुँदमा
आमाको करुणा वर्सन्छ ।।

शिलु शर्मा