शालिन बिद्रोह

तिमीलाई  !
मेरो हृदयको धून मन
पर्दैन
मन पर्दैन म खुशीले फूल जस्तै मुस्कुराएको
तिमी पनि त
चराहरु जस्तै चन्चल छौ
तर किन मनपर्छ तिमीलाई
पहाड जस्तो मेरो मौनता ?

युद्द हारेको सिपाही झैं
तिम्रो सामुन्ने  पराजित हुँदै आइरहें म
धानको बाला झै
झुकिरहेको पनि एक युग भइसक्यो
जति अग्लिए पनि कहिल्यै झुक्दैनौ तिमी
कहिल्यै दुख्दैनौ
के तिमीसँग
घाउहरु छैनन र मेरा जस्तै  ?
कि छैन तिमीसँग
मेरो जस्तो दु:खको पहाड
तिमीलाई त म
हिउँ जस्तै जमेको मनपर्छ,
पोखरी झै गतिहिन भएको मनपर्छ।

म कहिलेकाहीं लुकी -लुकी
बगिदिन्छु आफ्नै रहरहरुको नदीमा
र स्पर्श गरेर फर्कन्छु
गहिराइको सौन्दर्यलाई  ।

पत्थरहरु पनि
भगवान बनेका हुन ठक्कर खाएरै
तिमीलाई थाहा हुनुपर्छ अव
आगो र फूलहरु
बस्न सक्दैनन एकसाथ
भो अब मलाई नरोक
जन्माउँन देउ
एक अराजक हिटलर
म एक तानशाहको
बिद्रोही आमा बन्न चाहन्छु ।