Breaking News

एभरेस्ट कलर लिमिटेडले आइपिओ निष्कासन

एभरेस्ट कलर लिमिटेडले आज (शुक्रबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ३० करोड रूपैयाँको २६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रूपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशत अर्थात् ७९ लाख रूपैयाँ बराबरको ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले ३९ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि र १५ हजार ८०० कित्ता सेयर कर्मचारीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रूपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा बिक्री अवधि असार ५ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।