Breaking News

इन्भेष्टमेन्ट मेधा बैकको शाखा कार्यालय डुबाएर कहाँ भागे निराजन देवकोटा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका हेटौंडा शाखामा कार्यरत निराजन देवकोटाले त्रिशुली नदीमा हाम्फालेर ‘आत्महत्या’ गरे भन्ने विभिन्न मिडियामा समाचार आएको छ । तर, ‘वित्तीय अनुशासन’सँग जोडिएका देवकोटाले ‘आत्महत्या गरे’ भन्ने खबर नै शंकास्पद बनेको छ ।

देवकोटाको विषयमा विभिन्न कुरा आएपछि अनुसन्धानका लागि बैंकले उनलाई काठमाडौं बोलाएको थियो । बैंक डुबाएर हिँडेका देवकोटाले आत्महत्या ग¥यो भन्ने कुरा अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

असोज १५ गते देवकोटाले ‘त्रिशूलीमा फाल हालेर बेपत्ता भए’ भन्ने विभिन्न सञ्चारमाध्यममा खबर आएपछि सनसनी छाएको थियो । समाचारहरुमा काममा अनावश्यक टर्चर भएपछि आत्महत्या गर्न बाध्य भएको ‘सुसाइड नोट’समेत भेटिएको जनाइएको छ । तर, देवकोटाले बैंकमा गरेका गतिविधिले ‘सुसाइड नोट’भन्दा फरक तथ्य देखाउँछ । ‘वित्तीय अनुशासन’सँग जोडिएका उनको ‘सुसाइड नोट’ परस्परविरोधी देखिन्छ ।

देवकोटासँग प्रेमकुमार घिमिरे जोडिएका छन्, जो निर्माण व्यवसायी हुन् । स्रोतका अनुसार घिमिरे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ‘खराब ऋणी’ हुन् । पहिले उनी मेगा बैंकका ऋणी थिए । तर, मर्जरसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणीमा परिणत भए । घिमिरेले हेटौंडा शाखालाई गएको यही १२ गते एउटा निवेदन बुझाएका थिए । निवेदनमा निराजनले लेखेको भनिएको ‘नोट’भन्दा उल्टो देखिन्छ ।

घिमिरेले पत्रमार्फत देवकोटालाई ‘वित्तीय अपचलन’को गम्भीर आरोप लगाएका छन् । पत्रमा ‘खराब ऋणी’लाई ऋण मिलाउने नाममा दुईपटक गरेर १३ लाख रुपैयाँ लिएर पनि ‘धोका दिएको’ उनको आरोप छ । यस्तै, निराजनको प्रभु बैंकमा रहेको खातामा दिलबहादुर योन्जनबाट १० लाख रुपैयाँ बुझाएको दाबी घिमिरेले निवेदनमा उल्लेख गरेका छन् । त्यसबाहेक अन्य कारोबारमा पनि ‘धोका’ दिएको उनको पत्रमा उल्लेख छ ।

‘घर बनाउँदा गिट्टी बालुवा लिएर घर सम्पन्न गरेर पैसा पनि नदिएर अहिले आएर हामीसँग पैसा तथा सामान लिएको छैन भनी हामीलाई नै उल्टो गाली गलौच गर्ने, धम्की दिनेसमेत गर्ने गरेका छन्’ घिमिरेको निवेदनमा भनिएको छ, ‘देवकोटाको खातामा सो रकम आएको छ कि छैन भनी निज निराजन देवकोटाको बैंक स्टेटमेन्ट चेक जाँच गरी मसँग लिएको सामानको समेत रकम दिलाई भराई पाउँ भनी निवेदन गर्न आएको छु ।’

मर्जरअघि नेपाल इन्भेष्टमेन्ट बैंकको हेटौंडामा एउटा र मेगाको दुईवटा शाखा थियो । तर, मर्जरपछि बैंकको शाखा एउटामा झारिएको छ । त्यसपछि देवकोटा शाखाको प्रबन्धबाट सेकेन्ड म्यानमा झरेका थिए । त्यसपछि नै वित्तीय अपचलनका घटना बाहिरिएको हो ।

स्रोतका अनुसार घिमिरे आफैँ पनि असल ऋणीचाहिँ थिएनन् । उनले लामो समयदेखि बैंकमा बुझाउनुपर्ने रकम बुझाएका थिएनन् । नयाँ शाखा प्रबन्धले घिमिरेको कन्स्ट्रक्सनको मेसिनरी र गाडी सबै तानिदिएका थिए ।

देवकोटा शाखा प्रमुख हुँदा ऋण दिएर व्यापार विस्तारमा घिमिरेलाई सघाएका थिए । पछि, तिनै घिमिरे देवकोटाविरुद्ध बैंकमा उजुरी गर्न पुगेका थिए । त्यसअघि हुन्डाईको डिलर लिएको प्रकृति इन्टरप्राइजेजको केस पनि बैंकमा पुगेको थियो, जसमा देवकोटा वित्तीय अनुशासनभन्दा बाहिर गएको पाइएको छ ।

विभिन्न कागजपत्रहरुमा देखिएअनुसार इन्टरप्राइजेजका सञ्चालक सुवेदी थरकालाई देवकोटाले ऋण लिन प्रेरित गरेका थिए । उनको नाममा बैंकले ४० लाख रुपैयाँ ऋण दिएके थियो । तर, उक्त ४० लाख ऋणीको हातमा पुगेन । सुवेदीले लिएको ४० लाख रुपैयाँ नपाएको भन्दै बैंकमा उजुरी गरेका छन् ।

साथै, मेगा बैंकको शाखा कार्यालय रहेको घरका धनीसँग समेत देवकोटाको कारोबार देखिएको छ । देवकोटा ‘मिटरब्याजी’ रहेको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो । मेगा बैंकअघि देवकोटा प्रभु बैंकको शाखा प्रबन्धक हुँदा त्यहाँ भल्टको पैसा चलाएको भेटिएपछि प्रभु बैंकले उनलाई हटाएको थियो ।

प्रभु बैंकले हटाएपछि उनी मेगा बैंक पुगेका थिए । त्यहाँ हुँदासमेत उनीविरुद्ध उजुरी आइरहन्थ्यो । मिटरब्याजी रहेको भन्दै स्थानीय पत्रिकाले उनीविरुद्ध समाचारसमेत सम्प्रेषण गरेका थिए ।

त्यसैबेला उनले आफ्नो भाइ पर्ने सुजन देवकोटालाई बैंकबाट ऋण दिलाएको देखिएको छ । त्यो ऋण तिर्न नसकेपछि प्रतीक सुवेदीलाई अरु ऋण लिन लगाएर भाइको ऋण भुक्तानी गरेको बैंक स्टेटमेन्टबाट खुलेको छ ।

उनका ‘क्लाइन्ट’मात्र होइनन्, उनकै कारोबार अपत्यारिलो देखिन्छ । मासिक ७० हजार तलब खाने देवकोटाको दैनिक रुपमा बैंकमा लाख रुपैयाँ हाराहारीको कारोबार गरेको देखिएको छ ।

त्यसबाहेक उनकी श्रीमतीको अलग्गै कारोबार देखिन्छ । उनको एक करोड ४२ लाख रुपैयाँको कारोबार देखिँदा बहिनी ज्वाइँको अढाइ करोड रुपैयाँको कारोबार देखिन्छ । उनकै पनि डेढ करोडको कारोबार देखिन्छ । यसबाहेक, आफ्नो शाखाबाट ऋण लिने ऋणीसँग प्रत्यक्ष कारोबारमा उनको संलग्नता देखिएको छ ।

मेगा बैंकमा जोडिएपछि देवकोटाको आर्थिक हैसियत ह्वात्तै माथि गएको देखिन्छ । तीन वर्षको बीचमा कट्ठाको १५ लाख रुपैयाँका दरले १८ कट्ठा जग्गा किनेर उनले ‘फरेष्ट भ्यू’ होटल खोलेका छन् ।

पछिल्लो समय वित्तीय अनुशासनको विषयलाई लिएर उनीमाथि बैंकले छानबिन सुरु गरेको थियो । विवादै विवादले घेरिन थालेपछि उनले बैंकबाट राजीनामा दिएका थिए । तर, उनले दिएका अधिकांश ऋण कैफियत देखिएपछि बैंकले राजीनामा स्वीकृत गरेन । ब्यक्तिगत ऋण दिएर बिगारेको भन्ने पुष्टी भएकाले बैंकले त्यसलाई उठाउन भनेको थियो । तर, उनलाई टर्चर नदिएको बैंकले जनाएको छ ।

दृष्टिबाट