काठमाडौँ । प्रहरीले देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा सीआईबीको टोलीलाई उनलाई बिहीबा। पक्राउ गरेको हो ।
संचालक समितिका सदस्यले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा लगाएका थिए ।
मासिक, त्रैमासिक र वार्षिकरुपमा ब्याज पाउने तथा निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासमा बचतकर्ताहरुले रकम जम्मा गरेपनि सहकारीले फिर्ता नगरेपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बचतकर्ताको हालसम्म प्राप्त जाहेरीअनुसार चार करोड ४८ पचास लाख ४९ सय हजार चार सय ४३ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना भएको देखिएको छ ।
काभ्रेपलाञ्चोकको देउराली गाउँपालिका–६ स्थायी ठेगाना भएका चौलागाईमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।