पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अधिवेश आज सकिदैछ । हिजो राती मतपरिणाम अनुसार एमाले गण्डकी प्रदेश अध्यक्षमा केन्द्रीय सदस्य नवराज शर्मा निर्वाचित भएका छन् । उनले प्रत्यासी मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
नवराज शर्माले ५ सय ३१ मत पाउँदा र मायानाथ अधिकारीले ३ सय ६५ मत ल्याए । निर्वाचित शर्मालाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथ अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो ।
प्राप्त मतपरिणाम अनुसार पदाधिकारी तर्फपनि सबै पदमा अध्यक्ष नवराज शर्माकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् ।
गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा धनन्जय दवाडीले ५ सय २० मत लिएर विजयी भए । प्रत्यासी रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।
उपसचिवमा दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।
बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतीय मेसिनमार्फत मतदान भएको थियो । नवनिर्वाचित पदाधिकारीलाई आजै निर्वाचन कमिटीले सपथग्रहर गराउने बुझिएको छ ।