म जुम्ली

हो, म जुम्ली हुँ
म जुम्लाको नागरिक !
म जुम्ली हुनुको गर्व
म जुम्ली हुनुको स्वाभिमान
सगरमाथा भन्दा अग्लो लाग्छ मलाई !
उहिल्यै देखि हो
म असहमत छु काठमाण्डुसङ्ग
निरन्तर घाम र जून सङ्गै
मेरा विमतिका पैयाहरु कति गुडे गुडे
काठमाण्डुले कोट्ट्याएको
मेची-काली राजमार्गमा
परन्तु बाटो खिइयो
म खिइन ।
सन १८१६ मा
काठमाण्डुले बेचेको नेपाल
मैले नै आर्जेको हु ।
देउथलको लडाइँमा
पटुकामा आन्द्रा पोको पारेर
युद्ध लड्ने भक्ति थापा
नालापानीमा भोक र तिर्खा नभनी
शत्रुको सातो लिने बलभद्र कुवर
म बाघको डमरू हुँ
मलाई सिनो खाने कुकुर नसम्झ
हुङ्कार दिने अमरसिंह थापा
मेरै पुर्खाका दिव्य आलोक हुन् !
अदम्य शाहस छ मसङ्ग
बेजोड तर्क छ मसङ्ग
उच्च नैतिकता छ मसङ्ग
हो, म जुम्ली हुँ
म जुम्लाको नागरिक !
एक फोगट्टो सभ्यता रोपेर
विजन बाड्ने मैहु दुनियाँलाई
एक आउत सस्कृति फुलाएर
सुगन्ध सुघाउने मैहुँ जगतलाई ।
मंगोल र आर्य बस्ती बीचमा
फुटाएर नेपाली भाषाको साझा मुल
कर्णाली,
ब्रह्मपुत्र,
सतलज,
सिन्धु नदी बगाउँने पनि मैहुँ !
हो, म जुम्ली हुँ
म जुम्लाको नागरिक !
हो, तिमिले मलाई
मात्र जुम्लाको जुम्ली ठान्यौ भने
अपमान तिम्रो नै हुनेछ
स्वाभिमान तिम्रो नै गिर्नेछ
पहिचान तिम्रो नै मेटिनेछ !
मैले गाउँने गीत
शान्ति भन्दा अर्को हुँदैन
मैले सुन्ने धून
एकता भन्दा भिन्न हुँदैन
तिम्रो बासुरिले शङ्खघोष गरोस
अर्को युद्वको
म त्यही युद्ध भित्रको
एक टुक्रा सदाचार टिप्न लालायित छु ।
एक फाको स्वाधीनता
पोल्टामा सङ्गालेर
युगौ बाच्ने कसम खाएको म
आफ्नै ओठमा हिमाल देख्छु
आफ्नै निधारमा तराई सुम्सुम्याउछु
आफ्नै काधमा पहाड बिसाउछु ।
हो, म जुम्ली
म जुम्लाको नागरिक !
कइथरो छ तम्रो नेपाल यै जुनिमा
हेन्न पाइन्यानाई
मैले भनिरहदा
तिमी खितित्त हासेको
गहिरो सम्झना छ मलाई
त्यतिबेला ,
तिमिले ख्याल राख्यौ या राखेनौ
तर मैले
कुनै प्रतिक्रिया जनाईन
कुनै अपमान बोध पनि गरिन
किनकि,
तिमि पनि जुम्ली नै थियौं
जुम्लाको आदिम नागरिक ।