एकसाथ पाँच वटा संग्रह सार्वजनिक

साइनो वाङ्मय चौतारीको पाँचौं वार्षिक उत्सवको अवसरमा एकसाथ पाँच वटा संग्रह सार्वजनिक गरिएको हो।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कूलपति भूपाल राईको उपस्थितिमा साहित्यकार शेखर अर्यालको ‘साइनो मञ्जरी’, जमुना कायस्थको ‘साइनोका मुनाहरू’, छायादत्त न्यौपानेको ‘साइनो सिर्जना’, सिता सुवेदी पन्थीको ‘साइनो सुमन’ र संस्थागत रूपमा साइनो वाङ्मय चौतारीको ‘साइनो चौतारी’ संग्रह सार्वजनिक गरिएको हो।

पाँच संग्रहको विमोचन गर्दै प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले साइनो विधा विस्तार हुँदै गएको बताए।

साइनो ७, ८ र ९ शब्द संरचनाले बन्ने तीन लाइनको कविता विधा हो। यो विधाको सुरूआत २०७६ सालबाट सुरू भएको हो।

राईले हरेक क्षेत्रमा आफ्नो अस्तित्व विस्तार गर्न नयाँ नयाँ शैलीको प्रयोग हुने गरेको भन्दै साहित्य क्षेत्रमा साइनो विधा कविताको उपविधाका रूपमा देखिएको बताए।

शेखर अर्यालको साइनो मञ्जरीमाथि समीक्षा गर्दै साहित्यकार विष्णु ज्ञवालीले संग्रहभित्र ३०९ वटा रचना रहेको जानकारी गराए।

उनले साइनो मञ्जरीले अहिले राजनीति परिस्थितिलाई व्यंग्य प्रहार गरेको, कोभिड महामारीमा समाजमा देखिएको प्रभाव लगायतका विषय उठान गरिएको बताए।