अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश

१८ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप अन्तर्गत राती ९ बजे भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए ।

दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा खेलको दशौँ मिनेटमा मेम्फिस डिपाएले डेन्जल डमफ्राइसको पासमा गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए ।

जारी विश्वकपमा नेदरल्याण्ड्सका लागि कुनै पनि खेलमा पहिले गोल गर्दै अग्रता दिलाउन कोडी गाक्पो पछि दोस्रो खेलाडी बने । समूह चरणको तीनवटै खेलमा गाक्पोले पहिले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

यस्तै अमेरिकाले ओपन प्लेमा गोल बेहोरेको पहिलो पटक हो । समूह चरणमा वेल्स विरुद्ध १(१ बराबरी हुँदा अमेरिकाले पेनाल्टीमा गोल खाएको थियो ।

पहिलो हाफमा नेदरल्याण्सले २ सट अन टार्गेट राख्दै २ गोल गर्न सफल हुँदा अमेरिकाले २ सट अन टार्गेट हाने पनि गोल गर्न सकेन ।

पहिलो हाफको इन्जुरी टाइममा डाले ब्लिन्डले पेनाल्टी बक्सबाट डमफ्राइसकै पासमा गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा अमेरिकाको टिमोथी वेहले पेनाल्टी बक्स बाहिरबाट हानेको लङ सट डच किपर नोपर्टले बचाए । नेचुरल सेन्टर फरवार्ड बिना मैदान उत्रेको अमरिकाले पाएको अवसर सदुपयोग गर्न सकेन ।

दुई गोल खाए पनि दोस्रो हाफमा अमेरिकाले सुरुवातदेखि नै नेदरल्याण्ड्समाथि दबाब बनाएको थियो ।

४९औं मिनेटमा अमेरिका गोल नजिक पुगेको थियो । तर रियमको प्रहार नेदरल्याण्ड्सका गाक्पोले गोल लाइनबाट बचाएको थियो ।
दोस्रो हाफको सुरुवाती केही मिनेटपछि अमेरिका सुस्त बन्यो भने नेदरल्याण्ड्सले आक्रमक गर्न थाल्यो ।

६१औं मिनेटमा नेदरल्याण्ड्सका डिपाएले पेनाल्टी बक्सछेउबाट प्रहार गरेको बल अमेरिकन किपर म्याट टर्नरले उत्कृष्ट फिंगरटिप सेभ गरेका थिए ।

७१औं मिनेटमा नेदरल्याण्ड्सले दुई अवसर सद्पयोग गर्न सकेन । दुवै प्रहार अमेरिकी गोलकिपर टर्नरले बचाए । ७५ औं मिनेटमा अमेरिकालका हाजी पाइटले गोल गर्ने अवसर गुमाए ।

७६औं मिनेटमा उनै राइटले क्रिस्टियन पुलिसिचको पासमा गोल फर्काउँदै अमेरिकालाई खेलमा सम्भावना कायम राखेका थिए ।

तर, ८१औं मिनेटमा डेन्जल डमफ्राइसले गोल गर्दै नेदरल्याण्ड्सलाई ३(१ को अग्रता दिलाए भने अमेरिकाको खेलमा फर्कने सम्भावना
सकियो ।
नेदरल्याण्ड्सले अब आजै राती हुने अर्जेन्टिना र अष्ट्रेलियाबीच खेलको विजेतासँग पहिलो क्वाटरफाइनल खेल्नेछ ।