Breaking News

फिफा विश्व कप २०२६ मा बिजेता देखि उपबिजेता र अन् टिमले पाउने पुरस्कार रकम यस्तो छ

काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको रोमान्चक फाइनल खेलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि चुमेको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। त्यसपछि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फरवार्ड फेरान टोरेसले १०६औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।

यो हारसँगै लियोनल मेस्सीको नेतृत्वमा लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिनाको सपना अधुरै रह्यो। मेस्सीले आफ्नो सम्भावित अन्तिम विश्वकप उपविजेताका रूपमा टुङ्ग्याएका छन्। खेलको समापन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मैदानमा उपस्थित भई विजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए।

पुरस्कार रकममा नयाँ रेकर्ड
फिफाले २०२६ को विश्वकपका लागि पुरस्कार रकममा ठूलो वृद्धि गर्दै नयाँ रेकर्ड कायम गरेको छ। यसपटकको च्याम्पियन स्पेनले ट्रफी र च्याम्पियनसिप औंठीसँगै ५ करोड १० लाख अमेरिकी डलर ($५१ मिलियन) प्राप्त गरेको छ। यो रकम सन् २०२२ को कतार विश्वकप विजेता अर्जेन्टिनाले पाएको ($४ करोड २० लाख) भन्दा बढी हो।

फिफाले यसपटक ४८ सहभागी टोलीहरूका लागि कुल ८७ करोड १० लाख अमेरिकी डलर वितरण गरेको छ। युरोपेली फुटबल संघहरूको पैरवीपछि प्रतियोगिताको खर्च धान्न अप्रिलमा थप १० करोड डलरभन्दा बढी रकम थपिएको थियो। ५ करोड १० लाख डलर ठूलो रकम देखिए पनि विश्व फुटबलमा हुने अन्य खर्चको तुलनामा भने यो कमै मानिन्छ। उदाहरणका लागि, यो रकम इङ्लिस क्लब ब्राइटनले १९ वर्षीय डिफेन्डर लुका भुस्कोभिचका लागि तिरेको ट्रान्सफर फीभन्दा पनि कम हो।

पुरस्कार रकमको विवरण
विजेता (स्पेन): ५ करोड १० लाख अमेरिकी डलर ($५१ मिलियन)

उपविजेता (अर्जेन्टिना): ३ करोड ४० लाख अमेरिकी डलर ($३४ मिलियन)

तेस्रो स्थान (इङ्गल्याण्ड): ३ करोड अमेरिकी डलर ($३० मिलियन)

चौथो स्थान (फ्रान्स): २ करोड ८० लाख अमेरिकी डलर ($२८ मिलियन)

क्वार्टरफाइनल पुग्ने टोली: प्रति टोली २ करोड अमेरिकी डलर ($२० मिलियन) (स्विट्जरल्याण्ड, नर्वे, बेल्जियम, मोरक्को)

प्रि-क्वार्टरफाइनल (राउन्ड अफ १६): प्रति टोली १ करोड ६० लाख अमेरिकी डलर ($१६ मिलियन) (कोलम्बिया, इजिप्ट, अमेरिका, पोर्चुगल, मेक्सिको, ब्राजिल, पाराग्वे, क्यानडा)

अन्तिम ३२ (राउन्ड अफ ३२): प्रति टोली १ करोड २० लाख अमेरिकी डलर ($१२ मिलियन) (घाना, अल्जेरिया, अष्ट्रेलिया, केप भर्डे, अस्ट्रिया, क्रोएसिया, बोस्निया र हर्जगोभिना, सेनेगल, डीआर कंगो, इक्वेडर, स्वीडेन, आइभरी कोस्ट, नेदरल्याण्ड्स, जर्मनी, जापान, दक्षिण अफ्रिका)

समूह चरण: प्रति टोली १ करोड अमेरिकी डलर ($१० मिलियन) (उरुग्वे, स्कटल्याण्ड, दक्षिण कोरिया, इरान, उज्बेकिस्तान, इराक, साउदी अरेबिया, कुराकाओ, चेक गणराज्य, कतार, पानामा, जोर्डन, ट्युनिसिया, न्युजिल्याण्ड, हाइटी, टर्की)

थप सुविधा र व्यवस्थापन
प्रतियोगितामा सहभागी प्रत्येक ४८ राष्ट्रिय संघले कम्तीमा १ करोड २५ लाख डलर पाएका छन्। यसमा छनोट र समूह चरणमा खेल्दा पाइने १ करोड डलरका साथै प्रतियोगितापूर्वको प्रशिक्षण र तयारी खर्चका लागि दिइने २५ लाख डलर समावेश छ।

यसबाहेक, फिफाले प्रत्येक संघका ५० जना प्रतिनिधिहरूका लागि ‘बिजनेस क्लास’ को दुईतर्फी हवाई टिकट, होटल बसाइ, घरेलु यात्रा र सवारी साधनको व्यवस्थापनसमेत गरेको छ। तर, फिफाले यो रकम खेलाडीहरूलाई सोझै नदिई सम्बन्धित फुटबल संघहरूलाई उपलब्ध गराउनेछ र संघहरूले नै आफ्नो आन्तरिक नियमअनुसार वितरण गर्नेछन्।

प्रतियोगिताको अन्तिम सिट्टी बजेसँगै विजेता टोली स्पेनले मुख्य ट्रफी उचालेर उत्सव मनाएको थियो। तर, मूल विश्वकप ट्रफी स्थायी रूपमा नदिइने हुनाले विजेता टोलीलाई सुनको जलप लगाइएको प्रतिकृति (Replica) प्रदान गरिएको छ, जुन उनीहरूले आफूसँगै राख्न पाउनेछन्।