कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नवनियुक्त भएका छन् । नेकपाका कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाहीले हिजो बुधबार एमालेको समर्थनमा शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेश प्रमुख जोशीले शाहीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।
नवनियुक्त मुख्यमन्त्री शाहीले नेकपाका १४ र नेकपा एमालेका १० गरी २४ जना सांसदको हस्ताक्षरसहितको समर्थन बुझाएपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ। दुई कम्युनिष्ट घटक मिलेकाले त्यो संख्या सहजै पुगेको हो।नवनियुक्त मुख्यमन्त्री शाहीले शपथ लिएपनि सत्ता साझेदार दुई दलबीच मन्त्रिमण्डलको भागबन्डा नमिल्दा अरु मन्त्रीहरुको शपथ भने हुन सकेन ।
एमालेले आफूले चारवटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ भने नेकपा समान ३–३ मन्त्रालयको भागबन्डा हुनुपर्ने अडानमा छ। प्रदेशमा मुख्यमन्त्रीबाहेक ६ वटा मात्र मन्त्रालय छन्।
नयाँ मन्त्रीमण्डलमा एमालेले ४–२ को भागबन्डा गरौं भन्ने अडान लिएको छ ।

