आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित रहने

१७ बैशाख, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्थांक विभागले प्रक्षेपण गरेको छ । कोरोना महामारीका कारण सरकारी लक्ष्यको तुलनामा वृद्धिदर न्यून हुन पुगेको विभागको भनाइ छ ।
विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्राय सबै क्षेत्रले यसको मार खेप्ने भन्दै यो वर्ष २.२७ प्रतिशतको वृद्धिदर मात्र सम्भव हुने विभागको अनुमान छ । योसँगै यो वर्ष नेपालको अर्थतन्त्र ३२ खर्ब ९ अर्बको पुग्ने अनुमान विभागले गरेको छ । त्यस्तै नेपालीको प्रतिव्यक्ति आय पनि १ हजार ८५ अमेरकी डलर पुग्ने विभागले अनुमान गरेको छ । अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९ अमेरिकी डलर थियो ।
अघिल्लो वर्षको वृद्धिदर ६.७ प्रतिशत मात्र थियो ।
विश्वव्यापी महामारी तथा यसको रोकथामका लागि अपनाइएको लकडाउनले अर्थतन्त्रका सबै क्षेत्रमा प्रहार गर्ने विभागले अनुमान गरेको छ।विभागले पर्यटन क्षेत्र बाहेक अरु छिट्टै सूचारु हुने अनुमान छ । अर्थतन्त्रमा २७.०७ प्रतिशत हिस्सा भएको कृषि क्षेत्रको वृद्धिदर केही सीमित हुने छ। यद्यपी कृषि क्षेत्र ऋणात्मक नहुने विभागको अनुमान छ । यो वर्ष २.४८ प्रतितले कृषि क्षेत्रमा मूल्य अभिबृद्धि हुने विभागले अनुमान गरेको छ ।
धानको उत्पादनमा आएको कमी, आपूर्ति प्रणाीमा अवरोध हँदा तरकारी तथा मासु, दूध उत्पादन तथा उपभोगमा केही कमी आउने छ । गहुँ तथा फलफूल बालीमा सामान्य वृद्धि हुने विभागको अनुमान छ ।
त्यस्तै उद्योग क्षेत्रको वृद्धिदर यो वर्ष ऋणात्मक हुने विभागको अनुमान छ । उत्पादन, उपभोग तथा आपूर्तिमा कमी आउँदा समग्र क्षेत्रकै २.२७ प्रतिशतले घट्ने विभागले अनुमान गरेको छ । उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.०९ प्रतिशत योगदान रहेको छ ।
निर्माण क्षेत्रको मूल्य यो वर्ष घट्ने छ । अघिल्लो वर्षको तुलनामा ०.३१ प्रतिशतले घट्ने विभागले अनुमान गरेको छ । खुद्रा व्यापार २ प्रतिशतले बढे पनि होटल तथा रेष्टुरेन्ट क्षेत्रको वृद्धि १६ प्रतिशतले घट्ने छ । पर्यटन ठप्प तथा आवागमन प्रभावित भएपछि यातायात तथा सञ्चार क्षेत्रमा पनि २ प्रतिशतले कमी आउने विभागले अनुमान गरेको छ ।