Breaking News

एमाले बैठकबाट गरिएको संकल्पका आधारमा पार्टी कार्यक्रम प्रस्ताव

२२ पुस, काठमाडौं । नेकपा एमालेले जारी केन्द्रीय कमिटी बैडक चलिरहेको छ । आजको बैठकमा मिसन–०८४ सफल पार्न ८ शीर्षकमा पार्टी कार्यक्रम अगाडि सारेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीबाट पेश भएको राजनीतिक प्रतिवेदनअनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट गरिएको संकल्पका आधारमा पार्टी कार्यक्रम प्रस्ताव गरिएको हो ।

एमालेका भावी कार्यक्रम

क. अभियान बुझ्ने र बुझाउने

निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न पहिलो दायित्व पार्टीको अभियान बुझ्ने र बुझाउने हुनुपर्ने प्रस्ताव गरिएको छ । गत वैशाखमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट पारित सात विषय एमालेले बुझ्नुपर्ने कामहरूमा राखिएको छ । ती सात विषय हुन्ः

पार्टी सदस्यता विस्तार, नवीकरण तथा अभिलेख व्यवस्थापन,
प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन,
कमिटीको चेन–अफ–कमान्ड कायम गर्ने र कार्यकर्ताको मूल्याङ्कन,
कमिटी सञ्चालन र गुटबन्दी अन्त्य,
कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण,
आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषय सम्बोधन,
र, निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि निर्वाचनको व्यवस्थित तयारी ।
यी प्रत्येक विषयमा पार्टी पंक्तिमा गम्भीरतापूर्वक बुझ्ने र कार्यान्वयन गरिनुपर्ने प्रस्ताव अध्यक्ष ओलीले गरेका छन् ।

ख. वार्षिक कार्ययोजना कार्यान्वयन

पार्टी कार्यक्रमको दोस्रो प्रस्तावमा वार्षिक कार्ययोजना कार्यान्वयनलाई राखिएको छ । पार्टीले तय गरेको अवधारणाका आधारमा वार्षिक कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिने प्रस्ताव एमालेले अगाडि सारेको छ ।

ग. पार्टी स्कुलिङलाई स्थायी र थप प्रभावकारी बनाउने

छिटै स्थायी संरचनासहित स्थायी स्कुल सञ्चालन गर्ने योजना ल्याइने भएको छ । प्रदेश तथा जिल्ला कमिटीले पनि पार्टी स्कुलिङको कामलाई नियमित अङ्ग बनाउनुपर्ने र स्थायी स्कुल सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

घ. सङ्गठन विभागको सुझाव कार्यान्वयन

मिसन ०८४ को लक्ष्य पुरा गर्न भर्खरै सम्पन्न संगठन विभागको राष्ट्रिय भेलाले निकालेको निष्कर्ष कार्यान्वयनमा लैजानुपर्ने प्रस्ताव छ । यो भेलामा जनतासँग प्रत्यक्ष जोडिने कमिटीका नेताहरू सामेल भएकाले निष्कर्ष पनि महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ ।

ङ. मिथ्या र भ्रामक प्रचारको खण्डन

नेतृत्वप्रति हुने गलत प्रचारको खण्डनलाई एमालेले महत्वपूर्ण पार्टी कामको रूपमा प्रस्ताव गरेको छ ।

‘निराधार र कपोलकल्पित आरोप लगाउने, नेताहरूको चरित्र हत्या गर्ने र जनतामा भ्रम एवं निराशा फैलाउने यो अभियान केबल केही नेताहरू विरुद्ध मात्रै लक्षित छैन’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘‘ राष्ट्रिय राजनीतिमा नेकपा ९एमाले०को जुन स्थान, हैसियत र भूमिका छ, यसलाई कमजोर पार्ने सुनियोजित उद्देश्यमा केन्द्रित छ ।’

त्यसैले सकारात्मक सूचनाको प्रवाह गर्न र गलतको खण्डमा उत्रनुपर्ने एमालेको प्रस्ताव छ । ‘विज्ञानको नियमै हो– ताजा हावाका लागि झ्याल खोलिएन भने दुर्गन्धले ठाउँ लिन्छ । सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यमहरूमा सकारात्मक विषयहरू सम्प्रेषित भएनन् भने ती ठाउँहरू मिथ्या सूचना, भ्रान्ति, नकारात्मकता र कुण्ठाले भरिन्छन्,’ एमाले प्रस्ताव छ, ‘त्यसैले सबै कमरेडहरूले राष्ट्र र समाजमा भइरहेका सकारात्मक प्रगतिहरू, नागरिकहरूले गरेका सफलताका कथाहरू र हाम्रो पार्टीले गरेका सकारात्मक कुराहरू सम्प्रेषित गरेर मिथ्या प्रचारको बाढीलाई रोक्न जरुरी छ ।’

च. सुशासन, विकास र उद्यमशीलतासँग जोडिने

एमालेको अर्को छ– पार्टीपंक्तिलाई सुशासनको अभियान, विकास र उद्यमशीलतासँग जोड्ने । ‘आज हामी कुनै न कुनै रूपमा सत्ताको नेतृत्व गरेर वा सत्तामा जोडिएर अगाडि बढिरहेको हुनाले पार्टीलाई निरन्तर स्वच्छ, जनमुखी र रुपान्तरणकारी बनाइराख्नु पर्नेछ’, प्रतिवेदनमा भनिएको छ ।

स्वस्छ, जनमुखी र रुपान्तरणकारी पार्टी बनाउन पेशागत र जनसंगठनहरूले आफ्नो वर्ग र समुदायको समस्या बुझ्नुपर्ने, जनप्रतिनिधिहरूले जनतासँग जोडिनुपर्ने र विधायकहरूले नीति निर्माणमा विशेष ध्यान पुर्‍याउनुपर्ने एमालेको प्रस्ताव
छ ।

‘पार्टीमा, विशेष गरेर युवा पुस्तामा उद्यमशीलता, उत्पादनमा जोडिने र स्वरोजगारी, रोजगारी सिर्जना गर्ने कुरामा केन्द्रित हुनुपर्छ,’ ओलीले प्रतिवेदनमा लेखेका छन् ।

छ. वर्तमान सत्ता सहकार्यलाई सफल पार्ने

नेपाली कांग्रेस सहित ६ दलको समर्थनमा पार्टी अध्यक्ष ओलीले नेतृत्व गरिरहेको सरकार र सत्ता समीकारणलाई सफल पार्नु पनि एमालेको भावी कार्यक्रमभित्रै समावेश गरिएको छ ।

‘नेकपा ९एमाले० र नेपाली काङ्ग्रेस बीचको यो सहकार्य मुलुकको आवश्यकता हो, राजनीतिक स्थायित्वको आधार हो र संभवतः अन्तिम सकारात्मक विकल्प पनि हो’ प्रतिवेदनमा लेखिएको छ, ‘त्यसैले यसलाई सफल तुल्याउनै पर्छ । यसका लागि सरकारले आफ्नो ध्यान डेलिभरीमा दिनु पर्छ भने पार्टी पङ्क्तिले नीतिगत फिडब्याक, सकारात्मकलाई रचनात्मक सुझाव र राम्रो कामको सकारात्मक प्रचार मार्फत् स्थापित गर्नुपर्छ ।’

ज. पार्टीलाई विस्तार गर्ने

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अहिलेकै पार्टी संरचनाले मात्र नपुग्ने निष्कर्ष प्रस्तुत गरिएको छ । त्यसैले पार्टीलाई अझ बिस्तार गर्ने र जनाधार बढाउन नेता–कार्यकर्ता लाग्नुपर्ने प्रस्ताव गरिएको छ ।

विशेषगरी युवा पंक्तिलाई पार्टीसँग जोड्नुपर्ने विकल्प अगाडि बढाइएको छ । ‘‘ जनाधार भएका, भविष्य भएका, संभावनायुक्त नेता, कार्यकर्ता र युवा पङ्क्तिलाई पार्टीमा आबद्ध गर्ने कुरामा जोड दिँदै पार्टीको जनाधार फराकिलो बनाउनु पर्छ’, राजनीतिक प्रतिवेदनमा भनिएको छ ।