सार्वजनिक बिदाका दिन वा बिहान बेलुका जनप्रतिनिधि, कर्मचारीहरु सरकारी गाडी हुईकाँएर हिँडिरहेको देखिन्छन् । कानूनमा सार्वजनिक बिदाका दिन र कार्यालय समयबाहेक सरकारी गाडी चलाउन पाइदैँन । तर, कर्मचारी, जनप्रतिनिधिहरु तरकारी किन्नदेखि आफ्ना परिवार घुमाउन लैजान, बालबच्चालाई विद्यालय पुर्याउनसम्म सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् ।
जनताले तिरेको करबाट सरकारी गाडी किनिएको छ । सर्वसाधारणकै करबाट त्यो गाडीमा तेल हालिन्छ र बिग्रिँदा मर्मत गरिन्छ । जनताले नै तिरेको करबाट जनप्रतिनिधि, कर्मचारी तलबभत्ता खान्छन् । पोशाक लगाउँछन् । सरकारले जनप्रतिनिधि, कर्मचारीका निम्ति कार्यालय आउजाउ गर्न गाडी दिएको छ । कसैलाई दुई पाङ्ग्रे त कसैलाई चार पाङ्ग्रे ।
एउटै गाडी तीन लाखदेखि २५ करोड रुपैयाँसम्म् खर्चिएर किनिएको छ । नयाँ गाडी कर्मचारी, जनप्रतिनिधिहरु आफन्त, साथीभाइलाई ड्राइभिङ सिकाउन प्रयोग गर्छन् । अनि ठोक्काउँछन्, कुचाउँछन् । त्यसपछि पनि जनताकै करबाट त्यो गाडीको मर्मत गरिन्छ । मर्मत गर्दा समेत भ्रष्टाचार गरिन्छ । दश हजार मर्मत खर्च लागेमा दुई लाखको बिल बनाइन्छ र भुक्तानी लिइन्छ ।
यता, गाडीमा २० लिटर पेट्रोल, डिजेल लागेमा सय लिटरको बिल बनाउँछन् । पाँच दिन फिल्ड गएमा एक महिना गएको भन्दै भत्ता बुझ्छन् । कानूनमा कर्मचारीहरु बिहान १० बजेभित्र कार्यालय पुगेर हाजिर गरिसक्नुपर्छ भने बेलुका ५ बजेसम्म बस्नुपर्छ । यद्यपि, कर्मचारीहरु १२ बजे कार्यालय आइपुग्छन् अनि १ बजे हिँडिसक्छन् । कतिपय कर्मचारी त महिनामा एक दिन कार्यालय आउँछन् ।
अनि हाजिर मेशिन बिग्राएर महिनाभरि हाजिर गरेको देखाउँछन् । अहिले अधिकांश सरकारी कार्यालयमा हाजिर मेशिन बिग्रिएको अवस्थामा फेला पर्छ । त्यो गर्ने पनि कर्मचारीहरु नै हुन् । कार्यालय आएका कर्मचारीहरु पनि काममा कम राजनीतिमा बढी व्यस्त भेटिन्छन् । कर्मचारी कर्मचारी भेला भएर पार्टीको कुरा गरिरहेका छन् । छतमा घाम तापेर बसिरहेका हुन्छन् । कार्यालयमै बसेर फेसबुक चलाउँछन् । र, कार्यालयकै फोनबाट आफन्तसँग घण्टौं कुराकानी गर्छन् ।
झन कार्यालयको सामान घरतिर लैजाने त कर्मचारीहरुको खुबी नै भइहाल्यो । अफिसमा आवश्यक सामान खरिद गर्दा समेत कमिशन खान्छन् । पाँच हजारको सामान किनेमा एक लाखको बिल बनाउँछन् । हप्तैपिच्छे मिटिङ्ग राखिन्छ । त्यो पनि महँगा होटल, रेस्टुरेन्टमा । अनि महँगा महँगा खाजा खाइन्छ । २० जना मिटिङ्गमा सहभागी भएमा ५० पोका खाजा ल्याइन्छ । बाँकी सबै खाजा घरतिर लगिन्छ । सरकारी कार्यालयमा जाँदा कर्मचारीहरु कार्य कक्षामा कम क्याटिनमा धेरै भेटिन्छन् ।
क्याटिनमा चुरोट तानिरहेको अवस्थामा कर्मचारीहरु फेला पर्छन् । त्यसो त सरकारी कार्यालयमा क्याटिन पनि कर्मचारीहरुले नै सञ्चालन गरेका हुन्छन् । कार्यालयमा गएर हाजिर गर्छन् तर काम चाँहि आफ्नो क्याटिनमा गर्छन् । यता, क्याटिनको भाडा राज्यलाई तिर्दैनन् । न त बत्ती, पानी, फोहोर र इन्टरनेटको नै तिर्छन् । सरकारी कर्मचारीलाई राष्ट्र सेवक भनिने गरिएको छ ।
कर्मचारीहरु राष्ट्रका गहना पनि हुन् । कर्मचारीले राम्रो काम गरेमा देश–विदेशसम्म मुलुकको चर्चा हुन्छ । विडम्बना, हाम्रोमा भने कर्मचारी देशका लागि विषालु सर्प बराबर भएका छन् । राष्ट्र सेवकको दर्जा भएका कर्मचारीहरु देश र जनताका निम्ति बोझ बन्न पुगेका छन् । कर्मचारीहरु काम चाँहि गर्दैनन् तर तलब भने उनीहरुलाई महिनैपिच्छै बैंकमा चाहिन्छ । देश र जनताको काम गर्नु परेमा उनीहरुलाई ज्वरो आउँछ ।
तर, तलब खाने बेला केही हुँदैन । अन्य देशहरु कर्मचारीहरुकै मेहेनतले सुध्रिएको हो । हाम्रो देश भने कर्मचारीकै कारण बिग्रिएको छ । त्यसैले, अब सरकारले कर्मचारी प्रशासनलाई कि सुधार्नुपर्छ होइन भने निकाल्नुपर्छ । अहिले सरकारी कार्यालयमा जाँदा कतिपय कर्मचारी बेलुकाकै मदिरामा लठ्ठ भेटिन्छन् । कार्यालयमै बसेर खैनी, पराग, चुरोट खानु त उनीहरुको लागि सामान्य बनिसकेको छ ।
दलालीहरुले लगेको काम तुरुन्तै गरिदिन्छन् तर जनता आफैं गएमा यो–त्यो पुगेन भन्दै महिनौं कुराउँछन् । कर्मचारीहरुले लाउने पोशाक जनताले तिरेको करबाट किनिएको हो । अहिले सरकारी कार्यालयमा जाँदा अधिकांश कर्मचारीहरुले पोशाक मिलाएर लगाएको पाइँदैन । ड्रेसको अवस्था हेर्दा बाटोबाट टिपेर लगाएकोजस्तै लाग्छ । कर्मचारीहरु न जनताप्रति जिम्मेवार भए न राष्ट्रप्रति ।
हुन त यहाँ कर्मचारी नै छैनन् । सबै राजनीतिक दलका कार्यकर्ता छन् । सरकारी कर्मचारी प्रशासन दलको कार्यकर्ता प्रशासन बनेको छ । किनकि कर्मचारीहरु कार्यालयमा कम दलको कार्यक्रममा बढी भेटिन्छन् । आम सर्वसाधारण पनि सरकारी कर्मचारी देख्नासाथ भन्छन्, ‘ऊ आयो दलाली, भ्रष्टाचारी, दलको कार्यकर्ता ।’ सरकारले पदअनुसार कर्मचारीलाई तलब दिन्छन् ।
तल्लो स्तरका कर्मचारीलाई मासिक बढीमा ३० हजार र माथिल्लो तहका कर्मचारीलाई बढीमा एक लाख रुपैयाँ तलब दिने गरिएको छ । तर, अहिले सरकारी सेवामा कार्यरत तल्लो स्तरका कर्मचारीको समेत जीवनशैली भीआईपीजस्तै छ । आनाकै लाखौं पर्ने जग्गा किनी करोडौं खर्चिएर घर बनाएका छन् ।
बालबच्चालाई महँगा महँगा विद्यालयमा पढाएका छन् । दिनहुँ मासु पाक्छ, कर्मचारीहरुको घरमा । अनि मासिक यति थोरै तलबमा यस्तो आलिशन जीवन कसरी बिताउन सकिन्छ ? कर्मचारीहरुको जीवनशैलीबाटै उनीहरुले भ्रष्टाचार गरेको यकिन हुन्छ । सरकारी कर्मचारी र दलका नेता, कार्यकर्ताको सम्पत्ति छानबिन गरेमा कोही पनि बच्ने छैनन् ।
सबै भ्रष्टाचारमा पर्ने छन् । व्यापारीहरुले पनि राजस्व छलेर अकुत सम्पत्ति जोडेका छन् । अहिले जनता भन्छन्, ‘रवि लामिछानेको मात्र सम्पत्ति खोजतलास गरियो । कर्मचारी, अन्य नेता, व्यापारीहरुको सम्पत्ति किन छानबिन गरिएन ?’ सरकार लामिछानेतिर मात्र लाग्यो तर अन्य ठगहरुलाई कानूनको दायरामा ल्याउन पन्छिएको छ ।
सरकारले सरकारी कर्मचारीको जीवन समेत गराउने गरेको छ, त्यो पनि जनताले तिरेकै करबाट । कर्मचारी बिरामी हुँदा औपधी उपचारमा छुट हुन्छ । उसका परिवार, आफन्तले पनि छुट पाउँछन् । यता, दशैंमा पनि पेश्की दिइन्छ । देश–विदेश घुम्ने अवसर पनि कर्मचारीहरुले पाउँछन् भने सेवा निवृत्त भएपछि समेत पेन्सन आउँछ ।
यत्रो सेवासुविधा पाउँदा समेत कर्मचारीहरुलाई पुग्दैँन । कमिशन वा घुसबिना काम गर्दैनन्, कर्मचारीहरु । अनि यस्ता कर्मचारीहरुलाई अझ जनताले सम्मान गर्नुपर्ने रे । अब जनताले यीनीहरुलाई सम्मान होइन, लखेट्ने छन् । अझै पनि नसुध्रिएमा । हुन त कर्मचारी र नेता नै देश र जनताका लागि विषालु सर्प हुन् । यीनीहरुले देशै धितो राखेर विदेशीसँग धमाधम ऋण लिइरहेका छन् ।
जनताले तिरेको कर अनि विदेशबाट पठाएको रेमिट्यान्स त दुरुपयोग गरे नै । त्यसले पनि नपुगेर देशै धितो राखेर विदेशीसँग ऋण ल्याई मोजमस्ती गरिरहेका छन् । सरकारी, सार्वजनिक, गुठीका जग्गा व्यक्तिको नाममा दर्ता गराउने पनि कर्मचारी र नेता नै हुन् । देशमा राजनीतिक परिवर्तन गर्न शहिद हुने जनता अनि मोजमस्ती गर्ने चाँहि कर्मचारी र
नेता !