पढाइको महत्व नबुझ्ने म सानैबाट एसएलसी दिएपछि पढ्दिनँ भन्ने सोच्थें।
जति-जति मेरो उमेर बढ्दै गयो, त्यतित्यति आफ्ना चाहना र इच्छा बढ्दै गए।
जब एसएलसी दिएर पास भएँ, त्यसपछि १२ दिएपछि पढ्दिनँ भन्ने सोच्थें।
समय बित्दै गयो एघार,बाह्र पनि गाउँकै स्कुलमा पढें मिल्ने साथी उतै गाउँमै छुट्ने हुनाले बुवाले सहरमा गएर पढ्न अलि टाठो बाटो भइन्छ भन्दा साथी छुटछन् भनेर गाउँको स्कुल मा पढें बाह्रसम्म। गाउँमा स्कुल हुनाले र साथी पनि प्राणभन्दा प्यारो भएको हुनाले बुवा र आमाले धेरै सम्झाउँदा पनि म यतै पढ्छु जहाँ पढें पनि आफैंले हो पढ्ने भनेर भनिदिन्थें।
बाह्रको परीक्षामा पनि पास भएँ। बाह्र दिएपछि पढ्दिनँ भन्ने म ब्याचलर पढ्न थालेँ।
पहिला-पहिला ब्याचलर पढ्छुभन्दा आफू भन्दा ठूला दाइ दिदीले मनमनै सोच्थे यिनीहरु त ठूलै मान्छे हुन् क्या! म पनि २०७४ सालमा ब्याचलर पढ्न गाउँबाट सहर आएँ।
गाउँमा हुँदा गाउँभरी डुलेको गाउँको पाखापखेरा एकदमै याद आउँथ्यो बिस्तारै म सहरमा बानी पर्दै गएँ सहरको एक कोठामा दाइ र म बस्न थाल्यौं।
सहरको त्यो कोठामा बस्दा आखिर के गर्ने!
गाउँमा हुँदा अरू घरायसी काम गरेर बिताएका ती दिन सहरमा आएपछि सबै छुटे दिउँसो कलेज गयो, बिहान बेलुका वा बिदाको दिन कि मोबाइल चलाउने कि पढ्ने बिना काम दाईले त्यति बाहिर जान दिनु हुँदैनथ्यो। अल्लि धेरै बिदा भए म घर गइहाल्थें घर जाँदा कहिले गाडीमा त कहिले धेरै साथी भएर हिँड्दै रमाइलो गर्दै जान्थेम घर हिँडेरै भए पनि दुई घण्टाको बाटो हामी रमाइलो गर्दागर्दै छ घन्टा पनि लगाउँथ्यौं।
दिनचर्याहरू रमाइलोसँगै बितिरहेका थिए मेरो दाजुले लोक सेवा आयोगको तयारी गर्दै हुनुहुन्थ्यो।
दाजु दिनभरी पढ्ने, दाजुको लाजले भए पनि पढ्न थालेँ वा अझ भनुम् पढेजस्तो गर्न थालेँ।
बुढापाकाले भन्थे नि जस्ताको संगत गर्यो तस्तै भइन्छ हो त्यो कताकता मेरो जिन्दगीमा पनि लागू भइरहेको थियो।
एउटै कोठामा बस्ने दुई जना एउटा पढेको पढाइ अर्कोले किताब पनि नछुँदा कस्तो कस्तो लाग्ने रहेछ।
दाजुले दिनभरि बसेर पढेको देख्दा दुई हात जोडेर दाजु एकछिन बाहिर जाऊँ न भन्थेँ। अरूले पढेको देख्दा त अल्छी लाग्ने म अनि आफू त्यसरी कसरी पढ्न सक्छु दाजु एकदमै मेहनती हुनुहुन्थ्यो।
दाजुलाई पनि आफ्ना साथी कोरिया, जापान गएर पैसा कमाउने अनि दाजुले बुबाको पैसाले आफ्ना दैनिकी गुजार्दै गर्दा कति नराम्रो लाग्दो हो फलानाको छोरले यति कमाए उति कमायोभन्दा कति नराम्रो लाग्दो हो त्यो मैले राम्रोसँग बुझ्न सक्थें। दाजु पनि आफ्नो लक्ष्यमा पक्का हुनुहुन्थ्यो। समय बित्दै गयो र संघर्षको बाटोले लक्ष्यसम्म पुर्याउनु नै थियो।
दाजुले आफूले मेहनत गरेजस्तै मीठो फल पाउनुभयो नायब सुब्बामा नाम निकालेर सरकारी सेवामा कार्यरत हुनुभयो।
त्यसदिन मैले नि प्राण गरें मेहनत गरे आखिर के पाउन सकिन्न। त्यसपछि कताकता म पनि त्यही चाहनामा डुब्दै गएँ, चाहनामा डुब्नु र संघर्ष गरेर आफ्नो लक्ष्यमा पुग्नु छुट्टै पाटो थियो।
जिन्दगी चाहना र इच्छा अनुसार कसैको पनि हुँदैन भन्ने कुराको अवगत थियो नै। तर एसएलसी दिइएपछि पढ्दिनँ, बाह्र दिएपछि पढ्दिनँ भन्ने म ब्याचलर पढ्न थालेसी किन पढेछु जस्तो चाहिँ कहिल्यै भएन खै किन हो।
लाजले भए पनि पढ्न थालेकी म पहिलो, दोस्रो र तेस्रो वर्ष पनि राम्रै भयो अहिले चौथो वर्षको परीक्षाको रिजल्टको पर्खाइमा छु तर जिन्दगीको यात्रा त बल्ल सुरू भएको रहेछ।
स्कुल, कलेजमा दिएजस्तो सजिलो छैन। जिन्दगीको यात्रा चौथो वर्षको परीक्षा सकिँदा बित्तिकै शिक्षिक सेवा आयोग खुल्यो परीक्षा थियो चैतमा। विज्ञापन निस्किँदा म चौथो वर्षको परीक्षाको तयारीमा थिएँ।
चौथो वर्षको परीक्षा दिए र शिक्षक सेवा आयोगको तयारी गर्न थालेँ। आयोगको तयारीको त्यो दुई महिना न रात भनें, न दिन, न साथीहरूसँग भेटघाट हुन्थ्यो, न गाउँ जान्थें। रूमभित्र पढ्यो, बस्यो।
बाहिर कामले जाँदा पनि मेरो दिमागमा त्यही किताबका अक्षर घुमिरहेका हुन्थे। म रूममा एक्लै हुन्थें, त्यतिबेला न कसैको दबाब थियो, न अरूले पढेको देखेर पढ्थें मनमस्तिष्कदेखि नै पढ्न मन लाग्थ्यो रहरले होस् या कहरले पढ्ने बानीको विकास भएको थियो।
मन र मस्तिष्कलाई एकै ठाउँमा राखेर एकाग्र हुन मैले धेरै संघर्ष गर्नुपर्यो। जब कुनै कुरामा हामी बानी परेका हुन्छन् नि तब त्यो कुरा छोड्न गाह्रो हुँदो रहेछ। फेशनका लुगा आए किनौं किनौं लाग्ने साथीहरूसँग धेरै समय बिताउन मन लाग्ने स्वभावको म त्यतिबेला न लुगामा ध्यान जान्थ्यो न त साथीहरूसँग घुम्न जान मन लाग्थ्यो पढाइ नै मेरो पहिलो र अन्तिम काम भयो।
दिन गन्दागन्दै परीक्षा पनि नजिकिँदै गयो जब परीक्षा नजिकिँदै गयो तब मलाई एकदमै डर लाग्यो तयारी नपुगेर भनम् या अनुभव नभएर भनुम् पहिलो चोटि आयोगको परीक्षा दिँदै थिएँ।
मलाई एकदमै डर लागेको थियो नभन्दै परीक्षा दिने दिन महिनाले गन्दा दिनले गन्दा घण्टाले गन्दा मिनेटले गन्दा सेकेन्डले गन्ने बेला भयो। परीक्षा पनि दिएँ। नभन्दै मेरो परीक्षा सोचेजस्तो हुन सकेन पहिलो गाँसमै ढुङ्गा लाएजस्तो भयो। एसएलसी कलेज र क्याम्पसमा दिएजस्तो सजिलो रहेनछ आयोगको परीक्षा दिन अहिलेसम्म कति परीक्षा दिइयो तर आयोगको परीक्षा दिने दिनजस्तो डर कहिल्यै लागेको थिएन।
परीक्षा दिएर पोखराबाट बाग्लुङ आउँदा गाडीमा झ्यालकै सिटमा बसेको थिएँ र मनमा धेरै कुरा खेल्दै थिए।
छोरीले केही गर्छे भन्ने विश्वास बोकेका बुवा आमाको अनुहार याद आउँथ्यो र रूँन मन लाग्थ्यो।
परपरसम्मका डाँडाकाँडा हेर्दै भए पनि आँखा आँसु रोकेर गाडीका अरू मान्छेहरूसँग हाँस्ने भनुम् या हाँसेजस्तो गर्न बाध्य हुन्थें।
मेरा शुभचिन्तकहरूले कस्तो भयो परीक्षा भनेर सोध्दा नि नसोधे नि हुन्थ्यो नि जस्तो लाग्थ्यो तर उहाँहरूले केही आश बोकेको हुनाले सोध्न मन लाग्यो होला।
परीक्षा दिएर घर आएपछि जिन्दगीमा केही गर्न सक्दिनँजस्तो लाग्यो। बुबा आमा दाजु र साथीहरूले धेरै सम्झाउनुभयो। पढेपछि कहीँ न कहीँ काम लाग्छ।
यसरी हार मान्नु हुँदैन यो त तिम्रो पहिलो अनुभव हो सुरूमै को सफल हुन्छ र!
हुन पनि हो भन्दै विस्तारै आफ्नो मन बुझाउन थालें र विभिन्न सफल व्यक्तिहरूको जीवनी पढ्न र युट्युबमा सुन्न थालें।
बुवाले सधैं भन्नुहुन्छ- म विदेश गइनँ। अरूले जस्तो धन सम्पत्ति कमाउन सकिनँ तर तिमीहरूलाई असल बाटो देखाउने छु। तिमीहरूले नेपालमै केही गर्नुपर्छ भनेका ती कुरा र आमाले हाम्रा लागि भनेर गरेका ती दुःख र त्याग कहिल्यै भुल्ने छैन बुबा आमा म एउटा परीक्षामा असफल भएँ तर जिन्दगीमा अब आउने जस्तोसुकै परीक्षामा पनि डराएर हार मान्ने छैन।
म कतिसम्म सफल हुन्छु या हुँदिनँ। थाहा छैन तर मभित्र आएको यो परिवर्तनले पक्कै पनि सकारात्मक बाटो डोर्याउँछ हजुरले देखेका सपना ढिलो होला तर अवश्य पूरा गर्नेछु।
सेतोपाटीबाट