Breaking News

शिक्षा  मन्त्री भट्टराईद्वारा नेपाल खुला विश्वविद्यालयको स्थलगत भ्रमण तथा अन्तरक्रीया 

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेपाल खुला विश्वविद्यालयका कुलपति श्री विद्या भट्टराईले शुक्रवार  ललितपुर, मानभवनस्थित विश्वविद्यालयको स्थलगत अवलोकन  गर्नुभएको छ।

सो क्रममा मन्त्री भट्टराईले विश्वविद्यालयमा देखिएका असमझदारीको अन्य गर्न नेतृत्वले विशेष पहल गर्नुपर्ने, सबै नेतृत्व बीच आपसी एकता हुनुपर्ने तथा एक अर्काको परिपूरकको रुपमा कार्य गर्नुपर्ने बताउनुभयो ।

अवलोकन पश्चात विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै मन्त्री भट्टराईले  आफ्नो भ्रमण तथा छलफलबाट विश्वविद्यालयका समस्याको पहिचान भएको र समस्या समाधानको लागि सामूहिक प्रयास आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

सो अबसरमा मन्त्री भट्टराईले विश्वविद्यालय सञ्चालनका लागि आफ्नो तथा समग्र मन्त्रालयको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि सदैव तयार रहेको उल्लेख गर्नुभयो।

खुला  विश्वविद्यालय आफ्नो विशिष्ट ऐनद्वारा सञ्चालित एक स्वायत्त संस्था भएकोले ऐन कानूनका आधारमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्नु सरोकारवाला पदाधिकारीहरूलाइ आग्रह गर्नुभयो  । ज्ञानको उत्पादन तथा विकास गर्ने संस्था भएकोले आफ्नै योजना रहनुपर्ने तथा अनुसन्धान र खोजमा समेत संलग्न हुनुपर्ने कुरा उक्त समयमा बताउनुभयो ।

सो अवसरमा मन्त्री भट्टराईले विभिन्न बिषयहरूमा  खुलस्त विचार राखेकोमा सबै पदाधिकारी तथा कर्मचारीहरु प्रति धन्यवाद ज्ञापन गर्दै विश्वविद्यालसँग सम्बन्धित विविध विषयमा सिनेटमा छलफल गरी निष्कर्षमा पुग्न सकिने र समस्या समाधानका लागि मन्त्रालयले पुलको रुपमा कार्य गर्न तयार रहेको बताउनु भयो ।

 छलफलमा विश्वविद्यालका उपकुलपति तथा अन्य पदाधिकारीहरुले विश्वविद्यालयबाट हाल सञ्चालित शैक्षिक कार्यक्रमहरु, जनशक्ति र भौतिक पूर्वाधारको अवस्था, बजेटसँग सम्बन्धित विषय लगायत उक्त विश्वविद्यालमा अन्तनिहित विविध समस्याका बारेमा जानकारी प्रस्तुत गर्दै देखापरेका विविध समस्याको समाधानका लागि कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रिबाट  सहयोग, समन्वय  तथा सहजीकरणको अपेक्षा व्यक्त गर्नुभयो।

खुला तथा दुर शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा सर्वसाधारणको उच्च शिक्षामा पहुँच वढाई जनशक्तिको उत्पादन तथा विकास गर्न २०७४ सालमा नेपाल खुला विश्व विद्यालयको स्थापना भएको हो ।