पत्रकार किशोर पन्थीद्वारा लिखित ‘जिरो माइल’ नामक पुस्तकमाथि परिचर्चा

बागमती प्रदेशको राजधानी हेटौंडाका पत्रकार किशोर पन्थीद्वारा लिखित ‘जिरो माइल’ नामक पुस्तकमाथि परिचर्चा गरिएको छ । मकवानपुरका साहित्यकारहरूको संस्था राउण्ड टेवल गसिपद्वारा आयोजित पुस्तकमाथिको परिचर्चा कार्यक्रममा अधिवक्ता ऋषि के।बी। र पत्रकार गिरिजा अधिकारीले कृतिमाथिको समालोचनात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा। शंकर उपाध्यायले साहित्य, कानुन र पत्रकारिता समाजको मार्गदर्शक भएको बताए । साहित्यमा कमिकमजोरी रहे पनि त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले रचना समाजको सम्पती भएको उल्लेख गरे ।

लामो समयदेखि अमेरिकामा रहेर पत्रकारितामा क्रियाशील रहेका पत्रकार पन्थीद्वारा लिखित पुस्तक ‘जिरो माइल’ मा अमेरिकी अध्यागमन सम्बन्धी टिप्सलाई विशेष रुपमा समावेश गरिएको भन्दै नेपाल बार एशोसिएसन मकवानपुरका अध्यक्ष एवम् अधिवक्ता के।बी।ले जुनसुकै भिसामा अमेरिका जान चाहानेहरुका लागि मात्रै नभई आम पाठकहरूका लागि पनि यो कृति महत्वपूर्ण दस्तावेजको रुपमा रहने बताए ।

कृति सरल भाषामा सबैले बुझ्ने गरी तयार पारिएको र आम पाठकलाई दिन खोजिएको जानकारी पनि प्रभावकारी रहेको पत्रकार अधिकारीले बताए । ‘जिरो माइल’ पत्रकार, प्राध्यापक र कानुन व्यवसायीहरुका लागि पनि पठनीय सामग्रीको रुपमा रहने अधिकारीले उल्लेख गरे ।

वि।सं २०५७ मा गुल्मीबाट जनआह्वान दैनिकमार्फत पत्रकारिता सुरु गरेका पन्थी हाल अमेरिकाबाट सञ्चालित खसोखासका प्रधान सम्पादक हुन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ पीएचडीबाट सम्मानित उनले अमेरिकी राष्ट्रपति जो वाइडेनबाट हस्ताक्षरित प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्राप्त गरेका छन् ।

पन्थीको कम्पन उपन्यास पहिलो कृति हो । २०७२ वैशाख १२ गतेको भूकम्पसँग सम्बन्धित विषयवस्तु समावेश गरी २०७५ मा यो कृति तयार पारिएको थियो । राउण्ड टेवल गसिपका संयोजक राम अविकासको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत पाटन बार एशोसियसनका अध्यक्ष शुसील पोखरेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतमलगायत मकवानपुरका अधिवक्ता, प्राध्यापक एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।