सूर्या लाइफले बोनस शेयर र नगद लाभांश दिने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ ।

विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपैयाँ कायम हुने सो इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

साधारणसभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, संचालक समितिमा संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने चारजना संचालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने दुईजना संचालकहरूको निर्वाचनसमेत सम्पन्न गरेको छ ।

संस्थापक सेयरधनी समूह ‘क’ बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा विरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएका हुन् । उनीह निर्विरोध निर्वाचित भएका सो कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्म देशभर १३५ शाखा सञ्जालमा ४९ हजार ७१७ अभिकर्ताहरू समावेश गरेको
छ । ती अभिकर्ताहरूमार्फत एक लाख २२ हजार ९७० बीमालेख गराएको छ । बीमालेखबाट दुई अर्ब एक करोड ८५ लाख ७१ हजार ३१८ रुपैयाँ बीमाशुल्क आर्जन गर्नुका साथै कुल २९ करोड १८ लाख ६७ हजार ३१० रुपैयाँ दाबीभुक्तानी गरेको जनाएको छ ।