आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित

१० मंसिर, काठमाण्डौ । युएईमा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर १८।२ ओभरमा पुरा गर्‍यो।

नेपालका लागि सिता राना मगरले ३० रन बनाउँदा कप्तान रूविना क्षेत्रीले २० रन जोडिन्। कविता जोशीले १० रन जोड्दा इन्दु बर्माले ४ रन बनाएर आउट भइन्।

मलेसियाका लागि आइसा इल्साले १ विकेट लिइन्।

यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन जोड्यो ।

मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन् । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिइन्।
नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।

यो जितसँगै नेपाल ४ खेलबाट ३ जितसहित शीर्ष स्थानमा उक्लिएको छ। ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई आजको जित महत्वपूर्ण थियो। अब नेपालले अन्तिम खेलमा सोमबार घरेलु टोली युएईको सामना गर्नेछ।

यता ४ खेलमा एक खेलमा जित हात पारेको मलेसियाको ग्लोबल छनोट सम्भावना सकिएको छ।