एमाले महाधिवेशनको शुभकामना दिंदै महन्थ ठाकुरले ओलीको प्रशंसा

१० मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनस्थल चितवनमा शुभकामना दिन गएकाा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् । महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए ।

मधेस तथा थरूहट आन्दोलनका क्रममा २९२ जनामाथि लगाइएका मुद्दामध्ये तत्कालीन प्रधानमन्त्री ओलीको सद्भावनाले गर्दा १३९ जना रिहा भएको पनि उनले चर्चा गरे । मधेसका माग पूरा गर्ने सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराएका थिए ।