म्याग्दी जेसीज कप आयोजना हुने

७ मंसिर, बेनी । कोरोना संक्रमणको जोखिमका कारण स्थगित भएको जेसीज कप फुटवल प्रतियोगिता यो वर्ष हुने भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीज कप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १९ औँ संस्करणको प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सदरमुकाम बेनीस्थित खुलामञ्चमा सञ्चालन हुने बताइएको छ। हिजो बेनीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नका लागि आर्थिक संकलन, प्रचार प्रसारका काम सुरु गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले उक्त अवसरमा बताएका थिए ।

अध्यक्ष श्रेष्ठले बताए अनुसार, विद्यालयस्तरबाटै फुटबलका प्रतिभा उत्पादन गर्ने प्रतियोगिता हो,‘ सबै क्षेत्रबाट सहयोगको अपेक्षा सहित प्रतियोगिताको तयारीमा जुटेका छौ । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीज कप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका आयोजक मुल संयोजक कुमार बानियाँले बताए । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनको लागि रु ८ लाख ६८ हजार खर्च हुने अनुमान गरिएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिता मानिन्छ । सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रायोजक रहने यस प्रतियोगितामा आर्थिक संकलनका लागि टाइटल स्पोन्सर, प्रायोजक र सह–प्रायोजकको लागि समेत आह्वान गरिएको आयोजकले जनाएको छ । म्याग्दी जिल्लामा माविस्तरीय फुटबल प्रतियोगिताबाट खेलाडीको उत्पादन तथा क्षेत्रीय तथा राष्ट्रियस्तरको खेलसम्म पुग्न सहज भएको छ । पत्रकार सम्मेलनमा नेपाल जेसीजका उपाध्यक्ष सुजन बरुवाल, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ र निर्वतमान अध्यक्ष खम थापा लगायतको उपस्थिति रहेको थियो ।