नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

३० कात्तिक, काठमाडौं । आयात ठूलो मात्रामा बढ्दा र निर्यात कम हुँदा चालु खाता घाटा डेढ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालु खाता १५१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको जानकारी दिएको हो ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा चालु खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ ।

चालु खातामात्रै होइन चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शोधनान्तर स्थिति पनि घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाख रुपैयाँले घाटामा रहेको छ ।

के हो शोधनान्तर र चालु खाता :

एक मुलुकले अर्को मुलुकसँग मौद्रिक कारोबार गर्न सरकारसँग चालु, पुँजीगत र वित्तीय खाता रहेका हुन्छन् । मुलुकको चालु आय र व्ययको विवरण देखाउने खाता नै चालु खाता हो । यो खातामा वस्तु आयातरनिर्यात, सेवा आयातरनिर्यात, रेमिट्यान्ससहितका रकम ट्रान्सफर भएको रकमसहित मुलुकलाई प्राप्त आय र व्यय दुवैको हिसाब राखिन्छ ।

शोधनान्तर अवस्था चालु खाताभित्रकै एक पक्ष हो । चालु खाता घाटामा रहनु र शोधनान्तर स्थिति नकारात्मक रहनुबीच सम्बन्ध रहेको हुन्छ । आय बढ्दा चालु खाता नाफामा देखिन्छ । व्यय बढ्दा घाटामा देखिन्छ ।

चालु खाताबाहेक पुँजीगत खातामा अन्य मुलुकसँग सम्पत्ति खरीद–बिक्री, ऋण तथा सापटी, लगानी र विदेशी विनिमय कोषसहितका हिसाबको कारोबार हुन्छ । वित्तीय खातामा समेत ठूला परियोजनामा विदेशबाट भएको लगानीका तथ्यांकहरु राख्ने गरिन्छ ।

नेपाल भित्रने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति घाटामा जानुको मतलव नेपालबाट बढी रकम विदेशिएको छ । त्यसको तुलनामा कम रकम नेपाल आइरहेको छ । बढ्दो आयात र कम निर्यातका कारण यस्तो अवस्था आउने गर्छ ।