निषेधाज्ञा र पानीले पुरा भएन सुर्खेतभर ‘तर्बुजा’ पुर्‍याउने कृषकको सपना

खेतभरी छरपस्ट भएका तर्बुजा। बन्दा, काँक्रा, लौका र फर्सी पनि छरपस्ट छन्। बारीमा देखिने लोभलाग्दा यी कृषि वस्तु उपयोग गर्न भने मिल्दैन। केही राम्रोसँग पाक्न पाएका छैनन्, केही वस्तु धेरै समय बारीमा रहेर खान नमिल्ने भईसकेका छन्।

गएको माघमा सुर्खेतको वीरेन्द्रनगर–९ मा चार विगाहा खेतमा सात जना कृषक मिलेर व्यावसायिक खेती गरे। १० लाख लगानीमा गरिएको व्यावसायिक खेतीबाट ६० लाख बढी कारोबार हुने ती कृषकहरुको अपेक्षा पूरा हुन सकेन।

उक्त जग्गामा सबैभन्दा धेरै तर्बुजा लगाईएको थियो। २ हजार क्वीन्टल तर्बुजा उत्पादन गरी सुर्खेतभर आफ्नो मेहनतबाट पुर्‍याउने ती कृषकहरुको सपना पनि पूरा हुन सकेन। निषेधाज्ञाका कारण विक्री गर्न मिल्ने तर्बुजा बजारमा खपत हुनै सकेन। त्यसैमाथि जेठको पहिलो हप्तादेखि बारम्बार परेको पानीले फलेको बाली खेतमै कुहियो।

‘हामीले यो सिजनमा सुर्खेत जिल्लाभर हाम्रो मेहनतले फलाएको तर्बुजा पुर्‍याउने लक्ष्य थियो, सबै खेतीबाट ६० लाखजति कारोबार हुने अनुमान थियो,’ कृषक मनिराम लामिछानले भने, ‘एक त लकडाउन भयो, त्यहिमाथि खडेरीमा परेको पानीले हाम्रो लगानी बालुवामा पानी हाले जस्तो भयो।’

अहिले बारीमा भएका फलफूल र तरकारी सबै खेतमा कुहिएका छन्। सुरूसुरूमा फलेका फलफूल र तरकारी पनि बजार बन्द भएकाले खपत हुन सकेका थिएनन्।

पानी भरिएर बारीमा कुहिन थालेका बन्दा

आफूहरुले गरेको लगानीसमेत नउठेको सुरेन्द्र प्रसाद गौतमले बताए। ‘पहिले पनि सानोतिनो व्यावसायिक खेती गर्ने गरेका थियौं, यो वर्ष अली बढी नै मेहनत र लगानी गरौं भनेर जुट्यौं,’ उनले भने, ‘उत्पादन हुने समयमै बजारमा खपत हुन छोड्यो, पानीले डुबाईदिएपछि सञ्चित गरेर पनि राख्न सकिएन।’

चार विगाहा खेत लिजमा लिएर गरिएको उक्त खेतीबाट तर्बुजासँगै १ हजार क्वीन्टल काक्रा, लौका र फर्सी ५०/५० क्वीन्टल उत्पादन हुने अपेक्षा कृषकको थियो।

वीरेन्द्रनगर उपत्यकामा खेत भाडामा लिएर व्यावसायिक खेती गरेका कृषकले आफ्नो गाउँको कृषि समूहबाट १८ प्रतिशत ब्याजमा ऋण लिएर लगानी गरेका थिए। सात जना कृषकले प्रतिव्यक्ति एक लाख रुपैयाँ समूहबाट ऋण लिएर यसैमा लगानी गरेका हुन्।

वार्षिक ३ लाख २० हजार रुपैयाँ उक्त जग्गाको भाडा तिर्नुपर्छ। यो सिजनको १ लाख ६० हजार रुपैयाँ सात जना कृषकहरुले भाडा तिर्नुपर्ने हुन्छ। ‘सबै घाटामा गएपछि न यहाँ भाडा तिर्ने पैसा आयो, न त ऋण तिर्न नै सकिने भयो,’ गौतमले भने।

उनीहरूले २०७२ सालदेखि यो जमिन भाडामा लिएका थिए। अघिल्ला वर्षमा यो सिजनमा उत्पादन गर्न सकिने तर्बुजा लगायतका कृषि वस्तुबाट सन्तोषजनक आम्दानी भएपछि यो वर्ष जमिन र लगानी दुवै बढाएका हुन्।

यो खेती गर्दा ४ जनालाई नियमित रोजगारी पनि दिईएको छ। उनीहरुलाई मासिक १८ हजार रुपैयाँका दरले तलब दिने गरिएको छ।

बारीमै कुहिएका लौका।

यो सिजनमा एउटै तर्बुजा ७ किलोसम्मको फलेको थियो। तर्बुजा अधिकतम ९ किलोसम्मको फल्छ।

घाटा ब्यहोरेका यी कृषकहरुले यो सिजको तरकारी र फलफूल खेतीको बीमा नगरेकाले राहत पाउने सम्भावना समेत कम छ।

‘हामीले मन्त्रालयलाई पनि यो दुखेसो पोखेका हौं, त्यहाँबाट हेर्न त आउनुभयो। तर वीमा गर्नुभएको रहेनछ भनेर भन्नुभयो,’ लामिछानेले भने, ‘हामीले बीमा गर्न खोजेका पनि हौं, तर नगरपालिकाले हामीलाई सहजीकरण गरिदिएन। हामी कृषकहरुलाई प्रक्रिया पूरा गर्नै गाह्रो भयो।’

उनीहरुले अहिले आफूले फलाएका तर विक्री हुन नसकेका तर्बुजा लगायतका कृषि वस्तुहरु गाडीमा लोड गरेर कृषि निर्देशनालय र मन्त्रालयहरुमा दिने गरेका छन्। घाटा पूर्तीका लागि सहजीकरण गर्न निवेदनसहित बजार बन्द भएकाले विक्री हुन नसकेका कृषि वस्तुहरु विभिन्न मन्त्रालयहरुमा दिने गरिएको तुल्सीप्रसाद गौतमले बताए।

‘हाम्रो यो विरोधभन्दा पनि यस्तो घाटा व्यहोर्नुपरेका हामीजस्ता कृषकहरुप्रति सरकारको ध्यानाकर्षण होस् भनेर यस्तो गरेका छौं,’ उनले भने, ‘हामीलाई अहिले घाटामा पारेको सबैभन्दा ठूलो कारण भनेको खडेरीमा परेको पानीले हो।’

गएका वर्षहरूमा किलोको १०० रुपैयाँसम्मले तर्बुजा विक्री गरेका उनीहरुले अहिले बारीमै आएका मानिसहरुलाई २० रुपैयाँ किलोमा विक्री गरेका छन्।

‘आर्गानिक तर्बुजा भएकाले अघिल्लो सिजनहरुमा १०० रुपैयाँसम्म पनि बेच्यौं, अहिले भारतबाट आएको तर्बुजा बजारमै ५० रुपैयाँ किलो पाईन्छ,’ मनिराम लामिछानेले भने, ‘अहिले यहीँ कोही किन्न आउनुभयो भने बढीमा २० रुपैयाँ किलो दिएका छौं, त्यो पानी पानीमा डुब्न नपाउँदै निकालेका १/२ क्वीन्टल थियो।’

सेतोपाटीबाट