विश्वकप–एशियाकप छनोटमा नेपाल र ताइपेई भिड्दै

विश्वकप २०२२ र एशियनकप २०२३, छनोट खेलमा आज नेपालले चाइनिज ताईपेईसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल कुवेतमा नेपाली समयअनुसार बेलुकी ९ :४५ मा हुनेछ ।
विश्वकप छनोटको आगामी चरणमा पुग्ने गणियित संभावना कायम रहेपनि व्यवहारिक  रुपमा त्यो असंभवजस्तो देखिन्छ ।  अस्टे«लिया, कुवेत जोर्डन र चाईनिज ताईपेई सम्मिलित समूह बीमा रहेको नेपालको लक्ष्य सोझै एशियाकपको अगाामी (तेस्रो) चरणको छनोट खेल्ने हो । यसका लागि भने चाईनिज ताईपेईविरुद्धको आजको खेललाई महत्वपूर्ण मानिएको छ । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताईपेईविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताएका छन् । ‘हामी छनोटको चौथो स्थानमा रहेर एशिया कपको तेस्रो चरणको छनोट खेल्ने अवसर कायम राख्न चाहन्छौं र यसका लागि जित्न चाहन्छौं,’ अलमुताईरीले भने,‘हामीसँग युवा र प्रतिभावान् खेलाडी छन् ।’

तुलनात्मक रुपमा अन्य टोलीको दाँजोमा ताईपेईविरुद्धको खेल नेपालका लागि सहज छ, त्यसैले नेपालले जितलाई नै आफ्नो लक्ष्य बनाएको छ । यसअघि पहिले लेगमा पनि नेपालले ताईपेईलाई २–० ले हराएको थियो ।
समूहको चौथो स्थानमा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये यही खेलबाट मात्रै अंक जोडेको हो । अन्य सबै खेलमा नेपाल पराजित  भएको छ । यता, ताईपेइले अहिलेसम्म खेलेका ५ खेलमा कुनै जित निकाल्न सकेको छैन । त्यसैकारण, उसले पनि नेपालविरुद्धको खेल जित्ने लक्ष्य राखेको छ ।

एशिया कपका लागि यस्तो छ छनोट प्रक्रिया 
छनोट चरणमा ४० देश सहभागी छन् । यी देशलाई ८ समूहमा बाँडिएको छ । प्रत्येक समूहको विजेता सिधैं एशियाकपमा छनोट हुनेछन् । समूहमा दोस्रो भएका आठ टोलीमध्ये उत्कृष्ट चार टोली पनि सिधैं एशियाकपमा छनोट हुनेछन् । यसरी १२ देश दोस्रो चरणबाटै एशियाकपमा छनोट हुनेछन् ।

तर, एशियाकपमा प्रतिस्पर्धा गर्ने राष्ट्रहरुको संख्या २४ छ । त्यसकारण बाँकी १२ देशको चयन तेस्रो चरणको छनोटबाट हुनेछ । दोस्रो चरणमा दोस्रो स्थानमा रहेका बाँकी चार, समूहमा तेस्रो स्थान हासिल गर्ने आठ र चौथो स्थानमा रहेका उत्कृष्ट ४ गरी कुल १६ टोली एशियाकपको तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

चौथो स्थानका बाँकी चार र समूहको पुछारमा रहेका आठ टोलीले पनि तेस्रो चरण खेल्न पाउने आशा भने जीवितै रहनेछ । उनीहरुले यसका लागि प्लेअफ खेल्नेछन् । प्ले अफबाट यी १२ मध्ये ८ टोली तेस्रो चरणमा छानिनेछन् ।
यसरी तेस्रो चरणको खेलमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसमध्ये १२ टिम एशियाकपमा छनोट हुनेछन् ।

उसोत मानौं, तेस्रो चरणको छनोटमै चीन  छानिएन, यस्तोमा पनि आयोजकका नाताले एशिया कपमा उसको सहभागिता पक्का नै छ, । यस्तो परिस्थिती आएमा तेस्रो चरणको छनोटबाट १२ नभएर ११ टिम एशियाकपमा छनोट हुन्छन् । तर, यस्तो संभावना निम्तिएलाजस्तो देखिन्न किनकी चीन बलियो अवस्थामा छ । समूह भएको दोस्रो स्थानमा रहेको चीनको लक्ष्य विश्वकपको आगामी चरणको छनोट खेल्ने हो । अहिलेकै अवस्था कायम राखेमा शीर्ष दुईभित्र पर्दै चीन सोझै एशिया कपका लागि छनोट हुनसक्छ ।