Breaking News

मन्त्रीले विदेशी महिलालाई अस्वाभाविक व्यवहार

बालेन्द्र साह नेतृत्वको सरकारमा रहेका एक पुरुष मन्त्रीमाथि विदेशी महिलालाई अस्वाभाविक व्यवहार गरेको आरोप लागेको छ । अमेरिकाकी डा.अन्ना स्टिरले एक जना मन्त्रीले आफूलाई अस्वाभाविक व्यवहार गरेको खुलासा गरेकी छन् । लामो समयदेखि नेपालमा रहेकी अन्ना संगीतशास्त्री र मानवशास्त्री हुन् ।

नेपाली लोकगीत र दोहोरीमा पिएचडी गरेकी उनी स्पष्ट नेपाली बोल्छिन् । उनले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा रामायणका श्लोक र नेपाली गीत वाचन गरेकी थिइन् । केही दिनअघि एउटा अन्तरवार्ताका क्रममा उनले बालेन्द्र सरकारका एक जना मन्त्रीले अपमानजनक रुप,स्वभाव र शैली देखाएको बताइन् । मन्त्रीले आफूलाई हेपेको उनको अनुभव छ ।

उनको प्रश्न छ–मलाई त त्यसरी हेप्नेले नेपाली जनतालाई कति हेप्लान् ? स्टिरले उनलाई ‘सिकारु मन्त्री’ भनेकी छन् । नेपाली राजनीतिज्ञले आफूलाई धेरै ठूलो ठान्ने बताउँदै उनले अन्तरवार्तामा सुनाएकी छन्,‘एक जना मन्त्री मसँग बोल्न आए । साथीहरुले भनिसकेको थियो, यो डा.अन्ना स्टिर हो । उहाँले लोकदोहोरीमा पिएचडी गर्यो । मसँग आएर तपाईँलाई नेपाली आउँछ ? भन्यो । हजुर,आउँछ भनेँ । कत्तिको आउँछ भन्यो । ठीकठीकैको आउँछ होला भनेँ । त्यसपछि तपाईँलाई यति आउँछ कि यति आउँछ भन्छ मन्त्रीले ।’

ती मन्त्रीले हातले देखाएरै त्यसो भनेको अन्नाको भनाइ छ । मन्त्रीले त्यसो गरेको नसुहाएको उल्लेख गर्दै अन्नाले विदेशीलाई स्वागत गर्ने तरिका त्यही हो ? भन्दै प्रश्न गरेकी छन् ।

जनआस्थाबाट