Breaking News

बैंक, वित्तिय संस्थाका कारण मर्दै सर्वसाधारण, मिडिया र सरकार मौन !

बैंक, वित्तिय संस्था वा व्यक्तिसँग लिएको ऋण तिर्न नसक्दा सम्पर्कविहीन हुने, आमत्हत्या गर्नेजस्ता घटना पछिल्लो समय बढिरहेका छन् । बजारमा अधिकांश मानिसको अनुहारमा निराशा, चिन्ता र डर देखिन्छ । प्रायजसोको एउटै कारण छ–ऋण । सर्वसाधारण ऋणमा डुबेका
छन् । दलालको लहैलहैमा लागेर ऋण लिँदा उनीहरु आज तहसनहस हुँदैछन् ।

पाँच–६ वर्षअघि घरजग्गा, गाडी र सेयरको मूल्य अकासिएको थियो । बजारमा यी वस्तुमा लगानी गर्न हानाथाप हुन्थ्यो । मानिसहरुले बैंक, वित्तिय संस्था वा व्यक्तिसँग मीटरब्याजमा ऋण लिएर यी क्षेत्रमा लगानी गरे । तर, उनीहरुले बुझेनन् कि यी वस्तुको मूल्य दलाल, बिचौलिया, भूमाफियाहरुले कृत्रिम रुपमा बढाएका हुन् । भूमाफियाहरुले रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन प्लटिङ गरे अथवा टुक्राटुक्रा पारे । अनि आनाको लाखदेखि करोडौंमा बेचे । छिमेक भारत, चीनसहित विभिन्न देशबाट ५० हजारदेखि दश लाखमा सवारीसाधन किनेर ल्याए, अटो शोरुमहरुले । तर, बेचे चाँहि अढाई लाखदेखि २४ करोडसम्ममा ।

बैंक, वित्तिय संस्था, जलविद्युत, बीमालगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालहरुले ३२ सयदेखि पाँच हजारमा बेचे । पाँच वर्षअघि घरजग्गा, गाडी र सेयरको मूल्य दिनमा दुई र रातमा चार गुणाले बढ्थ्यो । त्यसैले, यी क्षेत्रमा लगानी गर्नेको बिगबिगी हुन्थ्यो । मानिसहरुले बैंक, वित्तिय संस्था वा मीटरब्याजमा ऋण लिईलिई लगानी गरे । आफूले जीवनभर कमाएको, विदेशमा रगतपसिना बगाएर आर्जित पैसा यी क्षेत्रमा लगानी गरे ।

तर, केही वर्षयता यी क्षेत्रमा व्यापक मन्दी छाएको छ । करोडौंको घरजग्गा लाखमा झरेको छ । करोडौंको गाडी पनि लाखमा झरिसक्यो भने ३२ सयदेखि पाँच हजारमा किनिएको सेयर २५ सयमा झरेको छ । अझ केही समयअघि सेयर प्रतिकित्ता १७ सय पुगेको थियो । घरजग्गा, गाडी र सेयरको मूल्य अझै घट्ने देखिन्छ । किनकि बजारमा यी क्षेत्रमा लगानी गर्न चाहने कोही छैनन् । बेच्न खोज्ने चाँहि यत्तिकै भेटिन्छन् ।

यसले मूल्य बढेपछि बेच्ने आशामा बैंक, वित्तिय संस्था, मीटरब्याजमा ऋण लिईलिई यी वस्तुमा लगानी गर्नेहरु चुर्लुम्म भएका छन् । उनीहरु डिप्रेशनमा गएका छन् । कतिपयले सहन नसकेर आत्महत्या गरेका छन् त कोही भागेका छन् । बैंक, वित्तिय संस्थाबाट ऋण लिएकाहरु त झनै चकनाचुर भएका छन् । उनीहरु तीन पुस्ता कालोसूचीमा परेका छन् । एकातिर जीवनभरको कमाई गुम्दा, अर्कोतिर तीन पुस्ता कालोसूचीमा परेपछि मानिसहरुले आत्महत्या, हत्याको बाटो रोजिरहेका छन् । यद्यपि, सरकार यसप्रति गम्भीर देखिँदैन ।

त्यसो त यस्ता घटना बढ्नुमा सरकार स्वयम् पनि जिम्मेवार छ । यदि सरकारले घरजग्गा, गाडी र सेयरमा लगानी कडाई गरेको भए आज न यत्रा सर्वसाधारण डुब्थे न त आत्महत्या गर्नेहरु बढ्थे । सरकार पनि दलालहरुकै पछि लाग्यो । उनीहरुकै कुरा सुन्यो । घरजग्ग, गाडी र सेयरमा लगानी खुकुलोमात्र बनाइएन, यिनैलाई राजस्वको प्रमुख स्रोत बनाइयो ।

तर, अहिले यी क्षेत्रमा मन्दी आउँदा सर्वसाधारण त डुबे नै सँगै मुलुककै अर्थतन्त्रमा असर परेको छ । राजस्व संकलन निरन्तर घट्दो छ, खर्च लगातार बढिरहेको छ । यदि सरकारले बेलैमा राजस्वको अन्य स्रोत खोजेको भए आज न अर्थतन्त्रमा संकट आउँथ्यो न त सर्वसाधारण डुब्थे । दलालीको लहैलहैमा लाग्दा जनतादेखि राज्यसम्म फस्यो ।

९५ प्रतिशत सर्वसाधारणले आफ्नो घरजग्गा, गाडी, सेयर, सुन धितो राखेर बैंक, वित्तिय संस्थाबाट कर्जा लिएका छन् । धितोको मूल्य घट्दा, बिक्री नहुँदा र चर्को ब्याजका कारण उनीहरुले कर्जा तिर्न सकेका छैनन् । कर्जा नतिरेपछि बैंक, वित्तिय संस्थाले ऋणीलाई अनेकौं दबाब दिन्छन् । राति १२ बजेसमेत फोन गरेर धम्क्याइन्छ । यतिमात्र होइन, घरमै गुण्डा पठाइन्छ ।

बैंक, वित्तिय संस्थाको तनाव सहन नसकेपछि मानिसहरुले आत्महत्याको बाटो रोज्छन् । तर, यस्ता समाचार सञ्चारमाध्यममा आउँदैनन् । पत्रकारहरु बैंक, वित्तिय संस्थाका कारण कति सर्वसाधारणले आत्महत्या, हत्या गरे ? खोजतलास गर्दैनन् । किनकि बैंकले मिडियालाई विज्ञापन दिन्छन् । विज्ञापन पाएपछि मिडियाले विरोधमा लेख्छन् न बोल्छन् । गुनगानमात्र गाउँछन् ।

यसले राज्यको चौथों अंग मानिने मिडियामाथि गम्भीर प्रश्न उठिरहेको छ । किनकि मिडिया सर्वसाधारणको आवाज हो, नाकि सर्वसाधारण लुट्नेहरुको । दलालहरुले सर्वसाधारणलाई लुट्नु लुटेका छन् । उनीहरुको जीवनभरको कमाई लुटिएको छ । करोडपतिबाट सडकछाप बनाइएको छ । तैपनि, सरकार कारबाही गर्दैन । सर्वसाधारण ठग्ने दलाललाई कारबाही हुन्छ न त चर्को ब्याज असुल्ने बैंक, वित्तिय संस्थालाई ।
यद्यपि, अब पीडित सर्वसाधारण मर्ने होइन, लड्ने हो । बैंक, वित्तिय संस्था, दलालहरुबाट पीडित सर्वसाधारण एकजुट हुनुपर्छ ।

सञ्चारमाध्यमहरुलाई आफूहरुको पीडाबारे लेख्न बाध्य बनाउनुपर्छ । सरकारलाई आफ्नो आवाज सुन्न बाध्य बनाउनुपर्छ । यहाँ दलाल, बैंक, वित्तिय संस्था, मिडिया, सरकारसम्म मिलेका छन् । सबैले आआफ्नो स्वार्थ पूरा गरिरहेका छन् । त्यसैले, अब पीडितहरु एकजुट हुनुपर्छ । जसरी मीटरब्याज पीडितहरु एकजुट भएपछि सरकार उनीहरुका कुरा सुन्न बाध्य भयो, अब त्यसरी नै बैंक, वित्तिय संस्थाबाट पीडित भएकाहरु पनि एकजुट हुनुपर्छ । किनकि, बैंक, वित्तिय संस्थाले कर्जा प्रवाहको नाममा सर्वसाधारणलाई लुटेका छन् ।

पहुँचबिना ऋण दिइँदैन । ऋण पाएपनि दश प्रतिशत कमिशन, तीन प्रतिशत सेवाशुल्क र १२ देखि १८ प्रतिशत ब्याज भनेर ४८ देखि ८० प्रतिशतसम्म असुलिन्छ । अनि तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिन्छ । मानिसहरुले आफ्नो जीवनभरको कमाईबाट घरजग्गा, गाडी, सेयर किनेका हुन्छन् । तर, यिनै वस्तु गुमेपछि र उल्टै कालोसूचीमा परेपछि उनीहरु तहसनहस हुन्छन् । अन्तिममा कुनै बाटो नदेखेपछि आत्महत्याको बाटो रोज्छन् ।

विडम्बना, सरकार यो कुरा देखेपनि अनदेखा गर्छ । बुझेर पनि नबुझेझैं गर्छ । मिडियाहरु पनि यस विषयमा कलम चलाउँदैनन् । बैंक, वित्तिय संस्थाको विज्ञापन जो पाएको हुन्छ । त्यसैले, अब पीडितहरु आफ्नो न्यायका निम्ति आफैं लड्नुपर्छ, बोल्नुपर्छ । अब पीडितहरुले आत्महत्या गर्ने होइन, विष खाने होइन, बैंक, वित्तिय संस्थाविरुद्ध सडकमा आउने हो । अनिमात्र उनीहरुले न्याय पाउनसक्छन् ।

रुषा थापा