फ्रान्सेली लिगको उपाधि लिल्लेलाई

एन्गर्सविरुद्धको प्रतिस्पर्धात्मक खेलमा २–१ को जित निकाल्दै लिल्लेले फ्रेन्च लिग वान उपाधि जितेको छ । जोनथन डेभिडले १० औं मिनेटमा गोल गर्दै लिल्लेलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको  अन्त्यमा बुराक यिल्मजले पेनाल्टीमार्फत  अग्रता दोब्बर पारे ।

इन्जुरी समयमा एन्गर्सका एन्जेलो फुलगिनीले खेललाई २–१ को अवस्थामा फर्काएपनि लिल्लेलाई उपाधि विमुख बनाउने त्यो गोल पर्याप्त भएन । लिल्लेले कुल ८३ अंक जोड्दै लिग जित्यो । उसले फ्रेन्च लिग वान जितेको यो चौथो पटक हो ।

दोस्रो स्थानको पेरिस सेन्ट जर्माइनले ब्रेस्टलाई २–० ले हरायो । तर अंक कम भएकाले दोस्रो स्थानमै सिमित भयो । उसले ८२ अंक जोडेको छ । विगत नौ वर्षमा पिएसजी उपाधिबाट विमुख भएको यो दोस्रो अवसर हो । यी दुई क्लबसँगै तेस्रो स्थानमा रहेको मोनाको पनि च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

अन्तिम खेलमा लेन्ससँग गोलरहित खेलेको मोनाकोले ७८ अंक थियो । यता, नाइससँग ३–२ ले पराजित भएपछि ७६ अंकमै खुम्चिएको लियोनले चौथो स्थानमै रहेर लिग टुंग्यायो । फ्रेन्च लिगबाट शीर्ष तीन क्लबमात्रै च्याम्पियन्स लिगमा छानिन्छन् । .