कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु

१० जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये पर्सा र बाराका दुई÷दुई जना र सर्लाहीका एक जना छन् ।

वीरगञ्ज–३२ चोर्नीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

नारायणी अस्पतालमै पर्साको बिन्दबासिनी गाउँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । जेठ ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार उपचारको क्रममा आज बिहान पौने १ बजे उनको मृत्यु होे ।

बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा आज बिहान १० बजे मृत्यु भएको हो ।

बारा जिल्ला घर भएका ४० वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई बैशाख २९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज राति साढे १२ बजे मृत्यु भएको कोभिड संयोजक दासले बताए ।

सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको हो । जेठ ३ गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको नारायणी अस्पतालले बताएको छ ।