सन् २०१८ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ जनमुक्ति सेनाको नेभी डिस्ट्रोयरमा साउथ चाइना सीतर्फ सवार भए । उनी सामुन्ने अप्रिलको त्यस दिन चिनियाँ जलसेनाको सबैभन्दा ठूलो परेड भयो, त्यस परेडमा ४८ वटा युद्धपोत, दर्जनौँ फाइटर जेट र १० हजारभन्दा बढी सेना समावेश थिए ।
माओ त्से तुङपछिका सर्वाधिक शक्तिशाली नेता सीको ठूलो महत्त्वाकाङ्क्षाका लागि यो दिन महत्त्वपूर्ण थियो, यो दस्ताले चीनको महानता र शक्तिलाई विश्वका सातवटै महासागरमा देखाउँदै थियो । ‘शक्तिशाली जल सेना बनाउने कार्यभर अहिलेजस्तो अत्यावश्यक पहिले कहिल्यै भएको थिएन,’ सीले त्यस दिन भने ।
सीको योजनाले कम्तीमा एउटा मापदण्डअनुसार काम गरेको देखिन्छ । २०१५ को कुनै बिन्दुदेखि अहिलेसम्म आइपुग्दा चीनले विश्वकै ठूलो समुद्री दस्ता तयार गरिसकेको छ र अब आफ्नो किनाराभन्दा निकै टाढासम्म यसलाई आक्रमक बनाउने कदम चलिरहेको छ ।
अबको चार वर्षपछि पीएलएएनसँग ४ सय युद्धजहाज हुने ओएनआईको प्रक्षेपण छ ।
सन् २००० मा फर्किनुस्, यतिबेला यो सङ्ख्या अझै कम थियो । ‘चीनको समुद्री युद्ध दस्ता पछिल्ला दुुई दशकमा तेब्बरभन्दा धेरैले बढेको छ,’ अमेरिकी नेभी, मारिन्स र कोस्ट गार्डका नेताहरुले डिसेम्बरमा जारी गरेको रिपोर्टमा उल्लेख छ । ‘अहिले विश्वको ठूलो समुद्री दस्तालाई कमाण्ड गरिरहेको जनगणतन्त्र चीनले आधुनिक जमिनी योद्धा, सब–मारिन्स, एयरक्राफ्ट क्यारियर्स, फाइटर जेट, ब्यालेस्टिक न्युक्लियर मिसाइल सबमारिन्स लार्ज कोस्ट गार्ड कटर्स र पोलार साइब्रेकरको निर्माण तीव्र गतिमा गरिरहेको छ ।’
पानीमा अमेरिका वा अन्य शक्तिहरुले गर्नसक्ने काम बराबर वा त्यसभन्दा उत्कृष्ट काम यसमध्येका केहीले गर्नसक्ने बताइएको छ । ‘पीएलएएनले चीनको जहाज निर्माता उद्योगबाट काम नलाग्ने कुरा होइन, बरु उन्नत र सामथ्र्यवान् जहाजहरु लिइरहेको छ,’ अमेरिकी नाभाल वार कलेजको चीन मेरिटाइम स्टडिज इन्स्टिच्युटका एन्ड्रियु इरिक्सनले गत फेब्रुअरीमा लेखेका थिए ।
यसमा टाइप ०५५ डिस्ट्रोयरजस्ता जहाज समावेश छन्, केही विश्लेषकहरुका अनुसार अमेरिकाको टिकोन्डिरोगा क्लास क्रुजियर्सभन्दा जमिन तथा पानीमा परिचालित हुनसक्ने यी एसल्ट जहाजहरु शक्तिशाली छन्, यसले हजारौँ चिनियाँ टुकुडीहरुलाई विदेशी किनारामा लैजान सक्छ ।
अमेरिका कहाँ छ ?
चीनले २०२५ सम्म ४ सय जहाजहरू परिचालन गर्नसक्ने अनुमान गरिएको छ । यता अमेरिकी सेनाको लक्ष्य ३ सय ५५ वटा बेडा तयार गर्नेमा छ । यो लक्ष्य कहिले पूरा गर्ने भन्ने निश्चित मिति पनि छैन । यसरी सङ्ख्यात्मक रूपमा हेर्दा अमेरिका पछि छ ।
तर यसको अर्थ संसारकै शक्तिशाली लडाकु दस्ताका रूपमा अमेरिकी नेभीको दिन सकियो भन्ने होइन । सैनिक सङ्ख्याको हिसाब निकाल्दा अमेरिकी जलसेना ठूलो छ, यहाँ ३ लाख ३० हजार सक्रिय सैनिक छन् भने चीनसँग २ लाख ५० हजार मात्रै सैनिक छन् ।
विश्लेषकहरुले अमेरिका माथि पर्ने धेरै पक्षहरु औँल्याएका छन् । अमेरिकी जलसेनाले अझै पनि चीनको दाँजामो गाइडेड मिसाइल डिस्ट्रोयर्स र क्रुजर्सजस्ता हेभी सैनिक जहाजहरु परिचालन गरिहेको छ ।
क्रुज मिसाइल लन्च क्षमतामा यी जहाजहरुले अमेरिकालाई ठूलो लाभ दिन्छन् । इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्रयाटेजिक स्टडिजका सुरक्षा विश्लेषक निक चाइल्डका अनुसार अमेरिकासँग आफ्नो सर्फेस जहाजमा ९ हजारभन्दा धेरै भर्टिकल लन्च मिसाइल सेल्स छन् भने चीनसँग १ हजार सेल्स छन् ।
त्यस्तै ५० डुङ्गासहितको अमेरिकी सबमारिन बेडा पूर्णतः आणविक शक्ति सम्पन्न छ । ६२ डुङ्गायुक्त चिनियाँ बेडामा केवल ७ वटा मात्रै आणविक सम्पन्न डुङ्गा छन् । यद्यपि घर नजिकको अवस्था भने बेइजिङको पक्षमा देखिन्छ ।
‘किनाराको लडाइँ र गस्तीमा अमेरिकी सेनाभन्दा चिनियाँ सेना माथि छ । र, गस्ती गर्न सक्ने साना जहाजहरू पनि बेइजिङसँग धेरै छन् । यस्ता साना जहाजहरु चिनियाँ समुद्री गार्ड र मेरिटाइम मिलिसियाले बढाइरहेका छन् । यस्तो पर्याप्त जहाजसमेत जोड्दा पीएलएएनको ताकत डबल हुनजान्छ ।’
अमेरिकाका लागि यो समस्याको सङ्केत हो । अहिले बजेट र महामारीको समस्याबाट वासिङ्टन चीनभन्दा धेरै प्रताडित छ । विश्लेषकहरु अहिलेको ट्रेन्डबाट चिन्तित छन्, चीनले गत शुक्रबार मात्रै आफ्नो वार्षिक सुरक्षा बजेट ६ दशमलव ८ प्रतिशतले बढाउने घोषणा गरेको छ र यसले बेइजिङ शक्तिशाली हुने देखाउँछ ।
चीनको जहाज निर्माणसँग कसैको तुलना हुँदैन
यदी तपाईंले धेरै जहाज बनाउन सक्नु भएन भने तपाईंसँग विश्वको ठूलो जलसेना हुनेछैन । चीनले विश्वको ठूलो व्यावसायिक जहाज निर्माताका रूपमा आफूलाई उभ्याइसकेको छ ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार २०१८ मा चीनले ग्रस टन्सका आधारमा विश्वको जहाज निर्माण बजारमा चीनको ४० प्रतिशत पकड थियो । २५ प्रतिशतसहितको दोस्रो स्थानको दक्षिण कोरियाभन्दा यो निकै अघि हो ।
ऐतिहासिक कोणबाट यसलाई हेरौँ, चीनको जहाज निर्माण सङ्ख्या निकै आश्चर्यजनक छ । अमेरिकाले दोस्रो विश्वयुद्धमा गरेको प्रयासभन्दा पनि धेरै । अमेरिकाले विश्वयुद्धको समय (१९४१–४५)मा चार वर्षसम्म बनाएको सङ्ख्याभन्दा धेरै जहाज चीनले शान्तिको समय एकै वर्ष (२०१९) मा बनायो । ‘दोस्रो विश्वयुद्धका क्रममा आपत्कालीन जहाज निर्माण कार्यक्रमअन्तर्गत अमेरिकाको जहाज निर्माण उच्च थियो र उत्पादन १८ दशमलव ५ मिलियन टन वार्षिक थियो । युद्ध सकिँदा अमेरिकासँग ३९ मिलियन टन वजनको व्यापारिक जहाज थियो,’ सेन्टर फर अ न्यू अमेरिकी सेक्युरिटीका सिनियर फेलो तथा पूर्वअमेरिकी जलसेनाका क्याप्टेन थोसम सुगार्टले गत महिना अमेरिकी संसद्मा सुनुवाइका क्रममा भने, ‘२०१९ मा शान्तिको समय चीनले २३ मिलियन टनभन्दा धेरै परिवहन निर्माण ग¥यो र चीनको व्यापारिक बेडा कुल ३ सय मिलियन टन्सभन्दा धेरै छ ।’
चिनियाँ सरकारी स्वामित्वका कम्पनीहरुको व्यावसायिक परिवहन पनि यसको जलसेना निर्माणको मेरुदण्ड हो । ‘युद्धमा, अतिरिक्त व्यावसायिक बन्दरगाहजस्ता प्रचुर औद्योगिक सामथ्र्य निकै छिट्टै सैन्य उत्पादन र रिपेयरमा परिणत हुनसक्छन् । यसले चीनको नयाँ सैनिक दस्ता फैलाउने सामथ्र्यलाई थप बढाउँछ,’ अमेरिकी नेभल वार कलेजका इरिक्सनले गत वर्ष लेखेका थिए ।
यी व्यावसायिक बन्दरगाहमा विद्यमान भौतिक पूर्वाधार, संलग्न जनशक्ति र प्रविधि युद्धपोतको सङ्ख्यालाई बढाउनमा सामर्थ्य छ ।
यो कार्य चीनले निकै सहज तरिकाले गर्ने कुरा हो । चिनियाँ पावर प्रोजेक्टका अनुसार २०१४ देखि २०१८ सम्म चीनले जर्मनी, भारत, स्पेन र बेलायतका जलसेनासँग भएका जहाजभन्दा धेरै सबमारिन्स, युद्धपोत, एम्फिबियस भेसल्स लन्च गरिसकेको छ ।
‘चीनले जुन गतिमा लडाकु जहाज बनाइरहेको छ र ती नयाँ युद्ध जहाजहरुसँग जुन सामथ्र्य छ, त्यसलाई हेर्दा म के भन्नसक्छु भने उसले समुद्री रक्षक जलसेनाबाट आफूलाई माथि उठाइसकेको छ । सायद अब केही अन्तर्राष्ट्रिय पहुँचसहित यो यस क्षेत्रकै सबैभन्दा शक्तिशाली जलसेना हो । उनीहरु विश्व स्तरीय जलसेना बनाउने बाटोमा छन् । यदि उनीहरुले अहिलेजस्तै गरी विकास गर्दै लगेमा त्यो हुन्छ,’ सुगार्टले सीएनएनसँग भने ।
मिसाइलको शक्ति
बेइजिङले सिस्टमेटिक तरिकाले आफ्नो जलसेना बनाइरहेको छ । ‘अहिलेसम्म उसले कोर्भटिस, फ्रिगेट्स र डिजेल इलेक्ट्रिक पावर्ड सबमरिन्सजस्ता पानीजहाज बनाइरहेको छ, जो चीन वरपरको पानीका लागि अनुकुल छन्,’ लन्डनस्थित रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका रिसर्च फेलो सिद्धार्थ कौशलले भने ।
चीनले साना जहाजहरु निर्माण गरिरहेको छ भने ठीक विपरीत अमेरिकासँग यस्ता जहाजहरु कम छन् । साउथ चाइना सी आसपासको ताइवान तथा इस्ट चाइना सी नजिकको सेन्काकु/डिअयु टापुहरु (जो जापानको नियन्त्रणमा छन् तर चीनले आफ्नो दाबी गरिरहेको छ) नजिकको समुद्री वातावरणमा यस्ता साना जहाजहरु प्रभावकारी देखिन्छन् ।
चीनको किनार नजिकका समुद्रमा पीएलएएनले राखेका यस्ता जहाजहरुलाई ठूलो सङ्ख्यामा जमिनमा रहेका मिसाइल फोर्सले सुरक्षा दिइसकेका छन् ।
यो मिसाइल्सले ‘अमेरिकाको पावर प्रोजेक्सनलाई समस्याग्रस्त पार्छ र ठूलो सङ्ख्याको जलसेना र हवाई शक्तिलाई चिनियाँ मेनल्यान्डमा हमला गर्नबाट रोक्छ,’ कौशलले भने, ‘यद्यपि यसले स्थानीय देशहरुविरुद्ध पनि पावर प्रोजेक्सनमा असर पार्छ । जब उनीहरुलाई सहयोग गर्ने अमेरिकाको समुद्री लिङ्क बिग्रन्छ, तब यी देशहरु निकै कमजोर हुन्छन् ।’
उदाहरणका लागि, यदि चिनियाँ मिसाइलको खतराका कारण अमेरिकी जलसेनाले साउथ चाइना सीमा अपरेट गर्न असफल भएको थियो भने उसलाई आफूसँग आपसी रक्षा सम्झौता गरेको फिलिपिन्सको रक्षा गर्न गाह्रो हुन्थ्यो ।
सन् २०२१ मा पीएलए जलसेना केवल जहाजभन्दा माथि हुनेछ भन्नेमा अमेरिकी सैन्य नेतृत्व पनि सचेत छ । ‘चीनले साँच्चै के लगानी गरिरहेको छ भनेर नियाल्नुस्,’ अमेरिकी नेभल अपरेसन्सका प्रमुख एडम माइक गिल्डीले यसै साता ब्रेकिङ डिफेन्समा प्रकाशित एक अन्तर्वार्तामा भनेका छन्, ‘हो, उनीहरुले धेरै जहाज पानीमा राख्दैछन् । उनीहरुले एन्टी–सिप मिसाइल्स र जहाजलाई निशाना बनाउनसक्ने स्याटेलाइट सिस्टममा पनि ठूलो लगानी गर्दै छन् ।’
यो सबैले आफ्नो घर नजिक हुने कुनै पनि द्वन्द्वमा चीनको हात माथि पर्नेछ र आफ्नो सेना सक्षम छ भन्नेमा चीन दृढ छ ।
‘चीनको राष्ट्रिय सुरक्षा विकासले आफ्नो सुरक्षा आवश्यकतालाई पूर्ति गर्ने र विश्वको शान्तिपूर्ण दस्ताको वृद्धिमा योगदान गर्ने लक्ष्य राखेको छ,’ २०१९ मा सार्वजनिक ‘नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षा’ विषयक श्वेतपत्रमा उल्लेख थियो, ‘चीनले कहिल्यै अन्य कुनै देशलाई धम्की दिनेछैन र कुनै प्रभुत्व पनि खोज्नेछैन ।’
त्यसो भए पीएलए नेभीले किन चीनबाट धेरै टाढाको अपरेसनका लागि उपयुक्त एयरक्राफ्ट क्यारियर्स, एम्फिवियस एसल्ट सिट तथा ठूला र शक्तिशाली डिस्ट्रोयर्स र क्रुजर्सहरु बनाइरहेको छ ? पश्चिमा मुलुकहरुको प्रश्न छ ।