नेपाली राजनीतिक आन्दोलनको नयां दिन सफल पार्न तीन बुंदे सहमतिपत्र

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

२१ फागुन, काठमाडौं । सरकार र नेकपा विप्लवबीच भएको सहमतिको सार्वनिक कार्यक्रममा बोल्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयां दिनका रुपमा अंकित भएको बताए ।

नेपाली राजनीतिक आन्दोलनको नयां दिन सफल पार्न तीन बुंदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरेका थिए ।

‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ उनका अनुसार यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।