काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षा निकायका कर्मचारीहरूको नयाँ तलबमानमा नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखहरूको तलबमा अन्तर रहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार नेपाली सेनाका प्रधान सेनापतिको तुलनामा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को मासिक तलब कम छ ।
नयाँ तलबमान अनुसार नेपाली सेनाका प्रधान सेनापतिको कुल मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। तर, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब भने ७८ हजार ५ सय ७६ रुपैयाँ मात्र तोकिएको छ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब पनि ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।
प्रहरीका अन्य वरिष्ठ अधिकारीहरूको तलब विवरण अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को मासिक ७३ हजार ७ सय ५० रुपैयाँ पुगेको छ भने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ७० हजार ७ सय १४ रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, प्रहरी उपरीक्षक (एसपी) को ६७ हजार ९२ रुपैयाँ, प्रहरी नायब उपरीक्षक (डीएसपी) को ६२ हजार ५ सय ४६ रुपैयाँ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को ६० हजार ८ सय ७४ रुपैयाँ मासिक तलब कायम भएको छ।

प्रहरीको तल्लो तहमा कार्यरत प्रहरी जवानको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ। नयाँ भर्ना हुने रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ छ भने प्रहरी कार्यालय सहयोगीहरूको तलब उनीहरूको तहअनुसार २८ हजारदेखि ४० हजार रुपैयाँको बीचमा रहेको छ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी यो नयाँ तलबमानका अतिरिक्त १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने निर्णय गरेको छ।


