नेकपा प्रचण्डमाधव पक्ष र नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा

२१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक आज सिंहदरबारमा बसिरहेको छ ।

आज दिउसो १ बजे प्रचण्ड–नेपाल र कांग्रेसले बेग्लाबेग्लै स्थानमा संसदीय दलको बैठक बसिरहेको छ ।

२३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुन भनेर प्रचण्ड–नेपालले बैठक बोलाएका हुन् ।

नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटको दलीय हैसियत रहँदैन । नेकपामा कायम रहेका प्रतिनिधि सभाका १ सय ७२ सांसदमध्ये प्रचण्ड–नेपाल समूहमा ८७ जना सांसद छन् ।

ओली समुहमा ८३ जना रहेका छन् । दुई जना सांसद कतै खुलेका छैनन् ।

त्यस्तै राष्ट्रिय सभामा नेकपाका ५० संसद छन् । राष्ट्रिय सभामा अध्यक्ष बाहेक ४९ जना नेकपा सांसद रहेका छन् । जसमध्ये २४ जना प्रचण्ड–नेपाल समुहमा छन् भने २४ जना ओली समुहमा छन् । वामदेब गौतम भने कतै खुलेका
छैनन् ।

यस्तै कांग्रेस संसदीय दलको बैठक पनि आज दिउंसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको
छ । आजको बैठकमा आगामी रणनीतिबारे छलफल हुने कांग्रेसले जनाएको छ। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन् ।